विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मिल्क मिट सेन्टरमा कुहिएको खसीको मासु भेटिएको छ ।

विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो । खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट गरेको छ । मासु पसलहरूको बारेमा उपभोक्ताको गुनासो आउने क्रम बढेपछि विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको हो ।

विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी गरी तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाइ, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरूको अनुगमन गरिएको छ ।

टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर इन्स्पेक्टर राजन पौडेललगायतको सहभागिता रहेको थियो । माछामासु पसलमा कमीकमजोरी भेटिए पहिलोपटकलाई सचेत गराएर छाड्ने यादवले बताए । फेरि पनि कमजोरी भेटिए कारबाही गर्ने उनको भनाइ छ । महानगरले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछामासु पसलको अनुगमन गरिसकेको छ ।

गत आर्थिक वर्षमा महानगरले ८५ वटा पसलको अनुगमन गरेको थियो । महानगर क्षेत्रभित्र करिब २ सय माछामासु पसल सञ्चालनमा रहेका छन् । तीमध्ये करिब ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको शाखा प्रमुख यादवले बताए । उनका अनुसार व्यापकरूपमा अनुगमन गरेर दर्ता नभएका पसललाई दर्ता प्रक्रियामा ल्याइनेछ ।