बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका अवसरमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलाई अभिनन्दन गरिएको छ । 

जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भ मेलाको मुख्य पण्डालमा आयोजित सम्मान अभिनन्दन कार्यक्रममा पूर्व मुख्यमन्त्री कार्कीलाई महाकुम्भ मेलाको श्रीवृद्धिमा गरेको योगदानको कदर गर्दै अभिनन्दन गरिएको महाकुम्भ मेलाका महासचिव कवि प्रह्लाद भट्टराईले जानकारी दिए ।

पूर्व मुख्यमन्त्री कार्कीसहित प्रदेश सभा सदस्य ममता तामाङ, चिन्तन पाठक, गयानन्द मण्डल, इस्रायल मन्सुरी, रामदेव यादव, शोभा पालुङ्वा चेम्जोङ, सदानन्द मण्डल, नम्बरलाल धिमाललगायतलाई सम्मान गरिएको छ । 

प्रदेश सरकारका सचिव तथा सहायक सचिवलगायतका कर्मचारीलाई समेत सम्मान गरिएको थियो । 

'कुम्भ मेलाका प्रवर्तक बालसन्त'

शास्त्रार्थ गरेर जगदगुरुको विभूषण प्राप्त गरी महाकुम्भ मेलाको जग नेपालमा जगदगुरु बालसन्तले स्थापित गरेको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन् ।

जगदगुरुप्रति कोशी प्रदेशकोतर्फबाट आदरभाव प्रकट गर्ने उनले बताए ।

कुम्भ सबै नेपालीको साझा गन्तव्य हो, यसको विकासका लागि ढिला भएकाले आत्मआलोचित हुनुपर्ने बताए ।

पूर्वमुख्यमन्त्री कार्कीले कुम्भ क्षेत्रको विकासमा आगामी वर्षको नीति, बजेटमा विशेष क्षेत्रका रुपमा विकास गर्न प्रतिबद्ध हुनुपर्ने बताए । उनले राज्यका सबै तहको सहयोगमा पूर्ण डिपिआर बनाएर पूर्वाधार निर्माण गर्ने बताए । वराहक्षेत्र चतराधामलाई पर्यटकीय गब्तव्य बनाउने प्रतिबद्धता जनाए ।

पूर्व मुख्यमन्त्री कार्कीले कुम्भलाई साझा धार्मिक थलोको रुपमा विकास गर्न आफूले अगुवाई गर्ने विश्वास दिलाए । 

'चतराधामको पर्यटनको विकासमा बालसन्तको योगदान' 

कोशी प्रदेशका प्रदेश सभा सदस्य चिन्तन पाठकले कोशी प्रदेशलाई उन्नत प्रदेश बनाउन, पहिचान र परम्परा विकास गर्न जगदगुरुको योगदानको चर्चा गरेका छन् । उनले कुम्भका नाममा भारत जाने नेपालीलाई देशमै महाकुम्भ मेला लाग्ने दृष्टान्त जगदगुरु बालसन्तले दिएको र मुलुकको गरिमा र गौरवबारे जानकारी गराएको उल्लेख गरे । 

'मुस्लिम समुदायका तर्फबाट कुम्भलाई सहयोग' 

कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरीले महाकुम्भ मेलामा मुस्लिम समुदायको समेत सद्भाव र सहयोग भएको बताएका छन् । 

उनले सम्प्रदायिकता खल्बल्याउने सामाजिक सद्भाव बिगार्नेबाट बच्नु पर्ने बताउँदै महाकुम्भ मेलाको सफलताको शुभकामना दिए । प्रदेश सभा सदस्य मन्सुरीले महाकुम्भ मेलामा धर्मावलम्बीको स्वागतका लागि प्रवेशद्वारमा स्वागतद्वार निर्माण गरिएको बताए ।  

चतराधाममा पाँच वटा कुम्भ मेला लागिसकेको छ । गत चैत्र २७ गतेदेखि सुरु भई आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला लाग्ने छ । 

उपाधि प्रदान 

सङ्गीतमार्फत भागवत भक्तिको प्रसारमा योगदान गर्ने वराहक्षेत्रका स्थानीय बद्रीप्रसाद दाहाललाई सङ्गीत उपाधि प्रदान गरिएको छ । 

महाकुम्भ मेलाका अवसरमा दाहाललाई जगदगुरु बालसन्तले 'शोभुराम सङ्गीत मार्तण्ड' उपाधिबाट विभूषित गरेका हुन् ।