विजयपुर । नेकपा (एमाले) धरान उपमहानगर समितिको विस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ ।
प्रशिक्षणमा एमालेले धरानमा गुमाएको विरासत फिर्ता ल्याउने विषयमा छलफल भएको छ । शनिबार लाङ्घाली सामुदायिक वनमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन समारोहमा निर्देशनात्मक रूपमा भने, ‘धरानमा नेकपा (एमाले)ले नेतृत्व गुमाउनुको मुख्य कारणबारे समीक्षा गर्नू ।’ उनले पार्टीका धरान उपाध्यक्ष पारस काङ्माङ राईले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक प्रशिक्षण प्रतिवेदन र आगामी कार्ययोजना तथा कार्यभार विषयक प्रतिवेदनमाथि टिप्पणी गर्दै दलाल पुँजीवादबारे तल्लो तहसम्म प्रशिक्षण हुन आवश्यक रहेको बताए ।
विस्तारित बैठकमा कोशी प्रदेशसभा सदस्य तथा एमालेका प्रदेश कमिटी सदस्य विजयकुमार राईले धरानमा एमाले पहिलो सङ्गठन भएर पनि निर्वाचनमा प्रमुख पदमा पराजय भएको विषयमा समीक्षा गर्नुपर्ने बताए । दुई पटक प्रमुख पद गुमाएको बताउँदै उनले मिसन ८४ मा जित सुनिश्चित हुनुपर्ने चाहना सबैमा रहेको बताउँदै भने, ‘नेतृत्वबीचको केमेस्ट्री, साथीभाइबीचको सहजता नमिलेको होला ।’
उनले आगामी निर्वाचनमा सबै पदसहित २० वटै वडा नेकपा (एमाले) ले जित्ने सङ्कल्प लिनुपर्ने बताए । उनले भने, ‘हामी सङ्कल्प गरौँ मिसन ८४ मा विजय हुन सानातिना समस्या छन् भने परित्याग गरौँ र पार्टीको विजयको लागि त्याग गर्ने सङ्कल्प गरौँ ।’ एमाले केन्द्रीय सदस्य मन्जु भण्डारी सुवेदीले एमाले कमजोर छ भने आफैभित्र कमजोरी रहेको बताइन् । ‘पार्टी पङ्क्ति ठीक ढङ्गले चलेको छ कि छैन, केन्द्रीय कमिटीको निर्देशन प्रदेश कमिटीले पालना गरेको छ कि छैन ? प्रदेशको निर्देशन जिल्ला कमिटीले पालना गरेको छ कि छैन ?’ केन्द्रीय सदस्य भण्डारीले प्रश्न गरिन्, ‘पार्टीमा जिम्मेवारी लिन होडबाजी हुने, जिम्मेवारी पालना गर्ने बेला होडबाजी नहुने ?’ उनले यसको समीक्षा हुनु पर्ने बताइन् । उनले भनिन्, ‘गुमाएका विरासत फिर्ता गर्न र मिसन ८४ पूरा गर्न ८१, ८२, ८३ मा गर्नुपर्ने मिसन र कार्ययोजना केके हुन् निक्र्यौल गरेर मात्र मिसन ८४ पूरा हुनसक्छ ।’
![](/uploads/advertise/online ad_1719397537.jpg)
एमालेका केन्द्रीय सदस्य तथा धरान इन्चार्ज जगदीशप्रसाद कुसियतले विस्तारित बैठक र प्रशिक्षणले पार्टीको सुदृढीकरण गर्ने बताए । ‘मिसन ग्रासरुटको उपलब्धिको समीक्षाबाट मिसन ८४ लक्ष्य पार्टीले निर्धारण गरेको हो,’ कुसियतले भने, ‘पार्टीलाई एकल बहुमतका साथ विजयी गराउने मूल उद्देश्य, पार्टी सुदृढीकरण, घात अन्तरघातलाई समाप्त गर्ने, वैचारिक, सैद्धान्तिक अपरिपक्वतालाई अन्त्य गर्दै जनताको मनमनमा बसाउने लक्ष्य मिसन ०८४ को लक्ष्य हो ।’ बैठकको पहिलो सत्रमा नेकपा (एमाले) धरानका आर्थिक विभाग प्रमुख शिवराज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।