भद्रपुर । बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष कारागार चलान भएका छन् भने अन्य तीनजना धरौटीमा रिहा भएका छन् ।

वैशाख १२ गते जिल्ला न्यायाधीश रामप्रसाद पौडेलको एकल इजलासले  सहकारी ठगी मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) बमोजिम मुद्दाको पुर्पक्ष गर्न थुनामा राख्ने आदेश भएसँगै उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग भन्ने सन्जोक गिरीलाई झापा कारागार चलान गरिएको हो । त्यसैगरी सहकारीका निवर्तमान अध्यक्ष तथा वर्तमान सञ्चालक समिति सदस्य दीपक खवासलाई १ लाख, सचिव कञ्चन आचार्य र कोषाध्यक्ष ज्योति वर्मनलाई जनही ५०–५० हजार धरौटी जमानतमा तारेखमा छाडिएको छ ।

आदेशमा भनिएको छ– ‘प्रतिवादीहरूले अभियोग दाबी अनुसारको रकम आफूले हिनामिना गरेको कसूरमा आफू इन्कार रही बचतकर्ताहरूको बचत रकम हिनामिना र बचतकर्ताहरूको रकम फिर्ता गरिदिनुपर्ने कुरा स्वीकार गरी मौका तथा अदालतमा गरेको बयान, प्रतिवादीहरू उपरको किटानी जाहेरी दरखास्त, मौकामा बुझिएका कुमारी तामाङ, सीता भट्टराई, प्रभात खड्का, श्रीप्रसाद निरौलासमेतले गरेको कागज, संस्थागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भूमिका हेर्दा यी प्रतिवादीमध्येका सन्जोग भन्ने सन्जोक गिरी संस्थाको व्यवस्थापक तथा उपाध्यक्ष रहेको अवस्थासमेतबाट यी प्रतिवादी सन्जोक गिरी तत्काल प्राप्त प्रमाणबाट उल्लेखित कसूरमा दोषी होइनन् भन्ने नदेखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई प्रतिवादी सन्जोग भन्ने सन्जोक गिरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) बमोजिम मुद्दाको पुर्पक्ष गर्न थुनामा राख्नू ।’ त्यसैगरी प्रतिवादीमध्ये दीपक खवास, कञ्चन आचार्य र ज्योति बर्मनलाई हाल निर्दोष रहेछन् भनी मान्न सकिने अवस्था नहुँदा र थुनामा नै राख्नुपर्ने अवस्थासमेत नभई संस्थामा रहेको भूमिकासमेतलाई हेर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ को आधारमा सोही संहिताको दफा ६८ (१) बमोजिम प्रतिवादी दीपक खवासबाट एक लाख रुपैयाँ, प्रतिवादीहरू कन्चन आचार्य र ज्योति बर्मनबाट जनही पचास हजार रुपैयाँ नगद वा सो बराबरको ज्यथा जमानत वा बैङ्क जमानत दिए लिई सोही संहिताको दफा ७४ बमोजिम कागज गराई तारेखमा राख्नू भन्ने उल्लेख गरिएको छ । प्रतिवादीहरूले उक्त धरौटी रकम नदिए सोही संहिताको दफा ६८ (२) बमोजिम थुनामा राख्न स्थानीय काराकार कार्यालय भद्रपुर झापामा पठाइदिनू भनी सोही संहिताको दफा ७९ नं. बमोजिम यो आदेश पर्चा गरिएको छ ।’

नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता लवराज घिमिरेले २०८१ वैशाख ९ गते भद्रपुर–८ का ३३ वर्षीय सन्जोक गिरी, भद्रपुर–७ का ३२ वर्षीय दीपक खवास, हल्दीबारी–३ की ३५ वर्षीया कन्चन आचार्य, हल्दीबारी–३ की २७ वर्षीया ज्योति बर्मन, भद्रपुर–६ का ४८ वर्षीय राजु भन्ने मदन श्रेष्ठ, हल्दीबारी–३ का  मन्दिप भन्ने हेमसागर वनलाई  प्रतिवादी बनाई सहकारी रकम हिनामिना गरी ठगी गरेको मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीवक्ता घिमिरेले वादी नेपाल सरकारकोतर्फबाट शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरमा बचत गर्ने बचतकर्ताहरूको बचत रकम एक करोड तीन लाख त्रियान्नब्बे हजार आठ सय उनासी रुपैयाँ चौरासी पैसा रकम हिनामिना गरी ठगी गरेकोले प्रतिवादीहरूलाई सहकारी ऐन,२०७४ को दफा १२२ को देहाय (घ), (ङ) र (च) बमोजिम कसूरमा सोही ऐनको दफा १२४ (१) (घ) (४) बमोजिम सजाय गरी पीडितहरूको बिगो भराई क्षतिपूर्तिसमेत दिलाई पाऊँ भन्नेसमेत व्यहोराको माग दाबी गरेका थिए ।

अभियोग पत्रसहित उपस्थित गराइएका प्रतिवादीहरू सन्जोक गिरी, दीपक खवास, कन्चन आचार्य र ज्योति बर्मनको बयान लिए पश्चात् वादी नेपाल सरकारको तर्फबाट सहायक जिल्ला न्यायाधीवक्ता लवराज घिमिरे र प्रमिला सुनुवारले बहस गरेका थिए । प्रतिवादी सन्जोक गिरीको तर्फबाट वरिष्ठ अधिवक्ता दामोदर सापकोटा र पदम डाँगीले बहस गरेका थिए । प्रतिवादी दीपक खवासको तर्फबाट अधिवक्ता भीमप्रसाद बराल र अधिवक्ता परशुराम बानियाँले बहस गरेका थिए । प्रतिवादी कन्चन आचार्यको तर्फबाट अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता ओमप्रकाश तिम्सिना र अधिवक्ता चेतनाथ आचार्यले बहस गरेका थिए भने प्रतिवादी  ज्योति बर्मनको तर्फबाट अधिवक्ता सुरज खत्री र अधिवक्ता शान्ता पाठकले बहस गरेका थिए ।

२०८० साल फागुन १३ गते ५४ जनाले, २०८० चैत २३ गते १ सय ४५ जनाले,  २०८० चैत २७ गते ४९ जनाले र २०८० चैत २९ गते २४ जनाले गरी २ सय ७२ जना सहकारीका बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

इनरुवामा दर्ता भएर विगत ३ वर्षदेखि  भद्रपुरमा गैरकानूनीरूपमा सञ्चालन गर्दै आएको शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरूलाई जिल्ला प्रहरी कार्यालयले फागुन ३० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी गरेको १३ दिनमा अर्थात् चैत १३ गते प्रहरीले उपाध्यक्ष गिरी, सचिव आचार्य र सदस्य खवासलाई पक्राउ गरेको थियो । कोषाध्यक्ष ज्योति वर्मन स्वास्थ्यका कारण प्रहरीकै सम्पर्कमा रहेर पक्राउ नदिएपछि बचतकर्ताहरूको दबावमा बर्मनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

गैरकानूनीरूपमा सहकारी सञ्चालन गरी सहकारीको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गर्दै बचतकर्ताको रकम हिनामिना गरेपछि सहकारीका पीडित शेयरधनी तथा बचतकर्ताहरूको सङ्घर्ष समितिले फागुन १४ गते प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरीमा रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिविरुद्ध उजुरी दिएका थिए । रजिष्ट्रार कार्यालयले सोही उजुरी बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनू भन्दै  जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो । सोही पत्राचारअनुसार जिल्ला प्रहरी कार्यालय झापाले सहकारीका शेयर सदस्यहरूले जम्मा गरेको शेयर पुँजी र बचत रकम सञ्चालक समिति वा सदस्य व्यवस्थापक वा कर्मचारीले हिनामिना एवम् अपचलन गरेको मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाएको थियो । मुद्दा दर्तासँगै जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सातै जना सञ्चालकको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारीका अध्यक्ष मदन श्रेष्ठ, सञ्चालक सदस्य हेमसागर वन र साइरस अधिकारी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । फरार रहेका व्यक्तिको खोजी कार्य जारी रहेकोले पक्राउपछि अदालतमा उपस्थित गराइने उनले बताए ।