विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निर्माण गर्न लागिएको १५ मेट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलान्यास भएको छ ।

दुई महिनाभित्र निर्माण सम्पन्न हुने गरी कोल्ड स्टोरको बुधबार शिलान्यास गरिएको हो । उक्त कोल्ड स्टोरको शिलान्यास कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मोरङ र कटहरी गाउँपालिकाले मूल्य अभिवृद्धि कर (भ्याट)सहित २४ लाख ३२ हजार ४ सय नौ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निर्माण गर्न लागरेको हो । कोल्ड स्टोर निर्माणको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहोर्ने सहमति भएको छ । जसअनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले चार लाख ८५ हजार ३ सय ५२ रुपैयाँ व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

शिलान्यास कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले कोल्ड स्टोर निर्माण भएर सञ्चालनमा आएपछि कृषकको उत्पादन खेर नजाने बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निर्माण भएर सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन हुनेछ’ अध्यक्ष चौधरीले भने, ‘निर्माण सुरु भएको ढिलोमा दुई महिनाभित्र पूरा भएर सञ्चालनमा ल्याउन लागिपर्नेछौँँ ।’ परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषि जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएको छ ।

उक्त जोनबाट उत्पादन भएको वस्तु बिक्री वितरण गर्नको लागि कोल्ड स्टोर निर्माणको लागि परियोजनाले गत मङ्सिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि कटहरीको फलफूल तथा तरकारी थोक बजारभित्र उपयुक्त स्थान भएपछि त्रिपक्षीय सम्झौता गरिएको एकाइ प्रमुख मनोजकुमार यादवले बताए । १५ मेट्रिक टन क्षमताको कोल्ड स्टोरमा पाँच टन क्षमताको तीनवटा कोठा हुनेछन् । कोल्ड स्टोर व्यावसायिक प्रयोजनको लागि भाडामा लगाइनेछ । ‘कृषकहरूले कृषिजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्नेछैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरूको सामग्रीहरू भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ’ एकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निर्माण भएपछि कार्यविधि बनाएर काम गरिनेछ ।’

कृषक र व्यावसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढ्दै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगामी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ’–उनले भने ।