विजयपुर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप र पत्रकारमाथि भइरहेको धरपकड तथा गिरफ्तारीको विरोधमा सुनसरीका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय आन्दोलनअन्तर्गत बुधबार महासंघ सुनसरी शाखाले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित विरोध प्रदर्शन गरेको हो । धर्नामा सहभागी पत्रकारहरूले ‘पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’, ‘हामी लेख्न छाड्दैनौँ, भाग्दा पनि भाग्दैनौँ’, ‘पत्रकारमाथिको धरपकड बन्द गर’ र ‘प्रेस स्वतन्त्रता जिन्दाबाद’ लगायतका नारा लगाएका थिए ।

सत्य समाचार लेखेकै आधारमा पत्रकारलाई डर, धम्की, धरपकड र गिरफ्तारी गर्ने कार्य भइरहेको भन्दै महासंघले प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारलाई निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउनेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएको छ ।

त्यस्तै, सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम उपलब्ध नगराइएको विषय पनि महासंघले उठाएको छ ।

मंसिर २ गते प्रधानमन्त्री र मंसिर ४ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र बुझाएको महासंघले चरणबद्ध आन्दोलनलाई निरन्तरता दिँदै मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको जनाएको छ । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै महासंघले आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।