विजयपुर । गणित शिक्षा परिषद् सुनसरीको आयोजनामा सम्पन्न गणितीय हाजिरीजवाफ प्रतियोगितामा विष्णु मेमोरियल स्कुल प्रथम भएको छ ।

सोमबार धरानमा सम्पन्न प्रतियोगितामा होलिल्याण्ड सेकेण्डरी स्कुल द्वितीय र सिद्धार्थ शिशु सदन सेकेण्डरी स्कुल तृतीय भएका छन् । विजेता टोलीले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । परिषद्का जिल्ला अध्यक्ष ठमेन्द्र बरालका अनुसार छनोट चरणबाट ६ टोली लाइभ चरणमा प्रवेश गरेका थिए । अध्यक्ष बरालले विद्यार्थीमा गणित विषयप्रति रुचि अभिवृद्धि गर्ने, तार्किक क्षमता विकास गर्ने तथा प्रतिस्पर्धात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले विगतमा गणित शिक्षकको अभावलगायतका कारण गणित विषय कठिन मानिने गरे पनि अहिले त्यस्तो समस्या नरहेको बताए ।

लाइभ चरणमा प्रवेश गर्ने विद्यालयमा विष्णु मेमोरियल, नवज्योति स्कुल, सिद्धार्थ शिशु सदन, होलिल्याण्ड, जुनियर पाइनर्स र होली गार्डेन रहेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका टोलीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा शिक्षक भीम खवास निर्णायक रहेका थिए । प्रतियोगितामा २२ विद्यालयको सहभागिता रहेको थियो ।