खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका महिला स्थानीय स्रोतसाधनको उपयोग गर्दै उद्यमशीलतातर्फ अघि बढेका छन् ।
नगरपालिकाले प्रदान गरेको सीपमूलक तालिमपछि महिलाले गाउँघरमै पाइने वनस्पति प्रयोग गरेर साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन गर्न थालेका हुन् । स्थानीयस्तरमा खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुलसीलगायत वनस्पतिबाट महिलाले लुगा धुने साबुन, हर्बल साबुन, हात धुने झोल साबुन, एरियल तथा सामान्य सर्फ, हर्पिक, कोलिन, लाइजोल र फिनेल उत्पादन गरिरहेका छन् ।
स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिकाले गत वैशाखमा निःशुल्क आधारभूत तालिम सञ्चालन गरेको थियो । तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै महिलाले उत्पादन सुरु गरेपछि अहिले आम्दानीसमेत गर्न थालेका छन् ।
तालिममा सहभागी स्थानीय महिला रेनुका चाम्लिङका अनुसार उनले उच्चस्तरको तालिमपछि लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्री गर्दै आएकी छन् । यसअघि नगरपालिकाले सञ्चालन गरेको अचार बनाउने तालिमसमेत लिएकी उनले अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गरिरहेकी छन् ।
सीपलाई व्यावसायिक उद्यमका रूपमा विकास गर्न थालेका नौ जना महिलालाई नगरपालिकाले थप एड्भान्स तालिमसमेत प्रदान गरेको छ । तालिमले उत्पादनको गुणस्तर सुधार र व्यवसाय सञ्चालनमा सहयोग पुगेको नगरपालिकाका उद्यम विकास सहजकर्ता सुरेश धामीले जानकारी दिए ।
महिलाले स्थानीयस्तरमा उत्पादन गरेका सरसफाइका सामग्रीको बजार सुनिश्चित गर्न नगरपालिकाले पनि पहल थालेको छ । नगरपालिकाभित्रका सबै कार्यालय तथा विद्यालयमा स्थानीय महिलाले उत्पादन गरेका सामग्री अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको नगरप्रमुख विमला राईले बताइन् ।
उद्यमशील बन्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । साबुन उत्पादन सुरु गरेका महिलालाई ढुक्क भएर अगाडि बढ्न आग्रह गरेका छौँ”, उनले भनिन्, “बजारीकरणको चिन्ता लिनुपर्दैन । उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा समेत नगरपालिकाले सहयोग गर्दै आएको छ ।”
नगरपालिकाबाट प्राप्त एड्भान्स तालिमले उत्पादनको गुणस्तर र ब्रान्डिङलाई व्यवस्थित बनाउन सहयोग पुगेको उद्यमी महिलाको भनाइ छ । उत्पादनको गुणस्तर सुधार हुँदै गएसँगै उपभोक्ताबाट माग पनि बढ्ने उनीहरूको अपेक्षा छ । महिलाले ‘हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह’ गठन गरी सामूहिक रूपमा सरसफाइका सामग्री उत्पादन गरिरहेका छन् ।
विश्वप्रसिद्ध धार्मिकस्थल हलेसी रहेको यस नगरपालिकामा उत्पादित सामग्रीको बजार विस्तार गर्न सहज हुने स्थानीय व्यवसायीको विश्वास छ । दैनिक ठूलो सङ्ख्यामा भक्तजन तथा दर्शनार्थी आउने हलेसी क्षेत्रमा सरसफाइका सामग्रीको खपत हुने भएकाले स्थानीय उत्पादनले बजार पाउने सम्भावना रहेको छ । आफ्नै ठाउँका महिलाले उत्पादन गरेका सामग्री प्रयोग गर्न पाउँदा उपभोक्ता तथा व्यवसायीलाई समेत सहज भएको नगरप्रवक्ता कमल गिरीले बताए ।रासस
































