विराटनगर । झापा र मोरङमा शृङ्खलाबद्धरूपमा सहकारी लुटपाट गर्ने समूह एउटै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । झापा र मोरङका २४ वटा सहकारी लुट्ने एउटै समूह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गत शुक्रबार सुनसरीको इटहरीबाट छ जना पक्राउ परेपछि सहकारी लुटपाटको विषयमा अनुसन्धान गर्दै जाँदा एउटै समूह संलग्न रहेको पाइएको हो । छ महिनादेखि लगातार चोरी भएको घटना पत्ता नलाग्दा अनुसन्धान अधिकृतहरू हैरान रहेका थिए । छ महिनाको अथक प्रयासपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षका अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले बताए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै लक्षित गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘गुगल म्याप सेट गरेर सहकारी पत्ता लगाउने र सर्भिलेन्स (निगरानी) गरेर चोर्ने गरेको देखिन्छ’ उनले भने, ‘सहकारीमा साँझपख सर्भिलेन्स गर्ने र राति चोरेपछि उनीहरू फाखेल फर्किन्थे ।’ उनीहरूबीच जिम्मेवारी बाँडफाँड गरेर नै चोर्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । झापामा हालसम्म १३ वटा सहकारीबाट ३० लाख १६ हजार चोरी भएको डिएसपी चन्दले जानकारी दिए । उनीहरूले मङ्सिर २६ मा झापाको दमकस्थित कावेली साना किसान सहकारीमा पहिलो पटक चोरीको प्रयास गरेको देखिन्छ । उनीहरूले चोरी गर्दा तीनवटा समूह बनाई सहकारीको सर्भिलेन्स गर्ने, गार्ड बस्ने र चोर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले ह्याम्मर तथा अन्य औजारको प्रयोग गरी चोरी गर्ने गरेको डिएसपी चन्दले बताए । चन्दले भने, ‘अर्को ठाउँमा चोरी गर्न फाखेलबाट आएका उनीहरू इटहरी उपमहानगरपालिका–६ स्थित न्यू विशाल होटेल एन्ड गेस्ट हाउसबाट पक्राउ परेका हुन् ।’ चोरी गरेपछि उनीहरूले सिसीटिभी फुटेज र अन्य सामग्री नष्ट गर्ने गरेका थिए । डिएसपी चन्द भन्छन्, ‘धेरैजसो मङ्गलबार, बिहीबार र शुक्रबार चोर्ने गरेको देखिन्छ ।’

यसरी पक्राउ परे
प्रहरीले चोरी भएको सहकारी संस्थालाई निगरानीमा राखेर अनुसन्धानको सुरुवात गरेको थियो । सुरुमा वरिपरिको सिसीटिभी फुटेज सङ्कलनदेखि लिएर घटनास्थलमा पुगेर त्यहाँका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य ग¥यो । तर, चोर पत्ता लागेन । हप्तैपिच्छे सहकारीहरू चोरिएको खबर आउन थाल्यो । त्यसपछि प्रहरीले सूक्ष्म ढङ्गबाट अनुसन्धान गर्ने सोच बनाएको थियो । सहकारीहरूमा चोरी भएको बेला त्यस लोकेसनमा भएका मोबाइल नम्बरहरू ट्रेससँगै सङ्कलन गर्न थालेको थियो ।

सहकारीहरूमा चोरी भएका बेला आसपास देखिएका केही मोबाइल नम्बरहरू एउटै भएको पत्ता लाग्यो । त्यो पत्ता लगाउन प्रहरीलाई झन्डै महिना दिन लाग्यो ।  त्यसपछि प्रहरीले ती मोबाइल नम्बर बोकेका व्यक्तिहरूको लोकेसन ट्रेस गर्न थाल्यो । उनीहरूको लोकेसन हेटौंडासहित पूर्वका विभिन्न स्थान देखाउँथ्यो । उनीहरू एक ठाउँमा नबस्दा प्रहरीलाई समस्या भयो । एक जना प्रहरी उनीहरूको लोकेसन ट्रेस गरेर बस्थ्यो । झापा छिर्ने बित्तिकै उनीहरूलाई पक्राउ गर्ने प्रहरीले योजना बनायो । तर, त्यो अवधिभित्र उनीहरू झापा छिरेनन् । वैशाख ६ गते साँझ उनीहरूको लोकेसन इटहरी देखायो ।

इटहरी लोकेसन देखाएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसँग समन्वय गरी झापा प्रहरीको टोली बिहान ६ बजे त्यसतर्फ लाग्यो । टोलीले  उनीहरू बसेको होटेल पनि पत्ता लगायो । इटहरी उपमहानगरपालिका–६ स्थित न्यु विशाल होटेल एन्ड गेस्ट हाउसको कोठा नम्बर ६ मा उनीहरू बसेका रहेछन् । त्यसपछि प्रहरी टोलीले होटेल सञ्चालकसँग सहकार्य गरी कोठाको ढोका फोडेर उनीहरूलाई पक्राउ गर्यो । कोठाभित्र तीनवटा खाटमा दुई–दुई जना सुतिरहेका थिए । सोही बेला उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

झापा र मोरङमा चोरी
गत मङ्सिर २६ गते दमकस्थित काबेली साना किसान सहकारी संस्थामा चोरीको पहिलो प्रयास गरेका थिए । त्यहाँ केही फेला नपरेपछि गत पुस २६ गते मध्यरातमा झापाको हल्दीबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्था फोडेर साढे ३ लाख रुपैयाँ चोरी गरेका थिए । दमक, हल्दीबारी हुँदै त्यसपछि जिल्लाका विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरूमा शृङ्खलाबद्ध चोरीमा उनीहरूको संलग्नता रहेको छ ।  उनीहरूले झापा मात्र नभई मोरङमा समेत सहकारी संस्थाहरू फोडेर चोरी गरे ।

उनीहरूले माघ १७ गते हल्दीबारी–४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्र एकै पटक चोरी गरे ।  सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद एक लाख २५ हजार चोरी गरेका थिए भने दूध सङ्कलन केन्द्रबाट नगद २६ हजार चोरी गरे । चैत २१ गते झापाको गौरादह–५ मा एकै रातमा तीन वटा सहकारीबाट ६ लाख ३६ हजार ५ सय रुपैयाँ चोरी गरे । उनीहरूले जनहित साकोसबाट ५ लाख, महारानी साकोसबाट ८५ हजार ५ सय र साना किसान सहकारीबाट ५४ हजार चोरी गरेका थिए । चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेका थिए । चैत २० गते कचनकवल गाउँपालिका–२ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र साना किसान सहकारी संस्थामा चोरी गरेका थिए ।

मोरङको बेलबारी–१० नारायण चोकस्थित झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर ३५ हजार पाँच सय रुपैयाँ चोरी भएको थियो । बेलबारी–३ सहकारी मार्गमा रहेका जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी प्रयास भएको थियो ।

त्यस्तै पुस १२ गते कानेपोखरी–७ स्थित जनमुखी बचत तथा ऋण सहकारीबाट ४ लाख १४ हजार ८ सय १ रुपैयाँ, माघ २९ गते राति कानेपोखरी–६ स्थित आदर्श बचत तथा ऋण सहकारीबाट ९३ हजार ९ सय ६० रुपैयाँ, फागुन २ गते पथरीशनिश्चरे–८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारीबाट चार लाख ७६ हजार १ सय ६६ रुपैयाँ चोरी भएको थियो ।

त्यसैगरी फागुन १५ गते राति लेटाङ–२ फँडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १२ लाख ८१ हजार ३० रुपैयाँ, खैरेनी सेवा केन्द्रबाट ३ लाख ९० हजार ५ सय ८५ रुपैयाँ र गोदावरी सेवा केन्द्रबाट ८ लाख ९० हजार ४ सय ४५ रुपैयाँ चोरी भएको थियो । बेलबारी–८ राधानगरस्थित जनप्रेमी बचत तथा ऋण सहकारीमा चोरीको प्रयास भएको थियो ।

झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर पुनः अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । ‘यही समूहले मोरङका सहकारी पनि विभिन्न मितिमा लुटपाट गरेको पहिचान भएको छ’–उनले भने ।