भद्रपुर । झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले २७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई सोलार अफसेट फेन्सको फारम हस्तान्तरण गरिएको छ ।

डिभिजन वन कार्यालय झापाले भद्रपुर, कचनकवल, हल्दीबारी, बाह्रदशी र मेचीनगरमा रहेका सामुदायिक वन उपभोक्ता समूहलाई सोलार अफसेट फेन्सको फारम हस्तान्तरण गरेको हो । जिल्लामा हालसम्म ७६ दशमलव ३९ किलोमिटर सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा जडान गरिएको सोलार अफसेट फेन्सको जिम्मा अब पालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहहरूलाई जिम्मा लगाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरचन्द्र अधिकारीले सोलार फेन्सको फारम डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईलाई हस्तान्तरण गरेपछि डिभिजन वन कार्यालयले सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारीलाई फारम हस्तान्तरण गरेको डिभिजन वन अधिकृत देवेन्द्र उप्रेतीले  जानकारी दिए ।

प्रकृति संरक्षण कोषले १० करोड ४० लाख ६६ हजार लागतमा मेचीनगरको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर, चारकोसे जलथल जङ्गलको रणकालीदेखि विशाल सामुदायिक वनसम्म पहिलो चरणमा ३५ किलोमिटर, दोस्रो चरणमा विशालदेखि काली मन्दिर सामुदायिक वनसम्म ६ किलोमिटर र चारआली जङ्गलको कालीमन्दिरदेखि सैनिक ब्यारेकसम्म १७ किलोमिटर सोलार अफसेट फेन्स जडान गरेको अधिकृत उप्रेतीले बताए । जडित गरिएका सौर्य तारबारको मर्मत सम्भार, रेखदेख र व्यवस्थापनमा चुनौती थपिएसँगै जिल्लामा मानव–हात्ती द्वन्द्व अझै बढ्दो छ । जडान गरिएको सोलार फेन्सले काम गर्न छाडेपछि जङ्गलबाट निस्किएका हात्ती गाउँघर पसेर मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ ।

हस्तान्तरण कार्यक्रममा सहभागी सामुदायिक सोलार फेन्स हस्तान्तरण कार्यक्रम ढिला भएकोले जनधनको क्षति रोकथाम तथा न्यूनीकरणमा समस्या उत्पन्न भएको जिकिर गरे । सामुदायिक वनलाई फारम हस्तान्तरण गरेर समस्याको समाधान नहुने स्थानीयको भनाइ छ । सामुदायिक वनले सहजीकरण मात्र गर्ने तर, यसको मर्मत सम्भारका लागि चाहिँ आवश्यक बजेट र प्राविधिक टोली सरकारले उपलब्ध गराउनु पर्ने दियालो सामुदायिक वन उपभोक्ता समूह भद्रपुरका अध्यक्ष देउकुमार लिम्बूले बताए । त्यस्तै हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले सामुदायिक वनलाई सोलार फेन्स जिम्मा लगाएर पन्छिने काम गर्न नहुने बताए । सामुदायिक वनका पदाधिकारीहरूलाई सोलार फेन्सको बारेमा प्राविधिक ज्ञान नभएकोले झन् समस्या हुने उनको भनाइ छ ।

आफ्नो वन क्षेत्रमा जडित सोलार फेन्सको झारजङ्गल हटाउने, कहाँबाट तार चुँडाएर हात्ती गाउँघर पस्यो त्यो हेर्नेबाहेक अरू विषयमा ज्ञान नहुने उनले बताए । पालिकाले मात्र केही गर्न नसक्ने भएकोले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन र प्रकृति संरक्षण कोषको साथ तथा सहयोग चाहिने उनले बताए । जिल्लामा मानव–हात्ती द्वन्द्व र सोलार फेन्सको अवस्थाका बारेमा डिभिजन वन कार्यालयका प्रमुख राईले २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६८ जनाको ज्यान गएको बताए ।

२०६२ सालदेखि हालसम्म २० वटा हात्ती मरेको भेटिएको उनको भनाइ छ । २०६८ सालदेखि गत आर्थिक वर्षसम्म ७ करोड १९ लाख ७० हजार ६ सय ९७ रुपैयाँ राहत वितरण गरिएको उनको भनाइ छ । चालु आर्थिक वर्षमा मात्र हात्तीले ७ जनाको ज्यान लिइसकेको उनले जानकारी दिए । हात्तीबाट ५ सय ३२ वटा घटना घटेको छ, जस बापत एक करोड २६ लाख रुपैयाँ राहत वितरण गर्न बाँकी रहेको उल्लेख छ ।