धरान । पूर्वका विभिन्न स्थानका सहकारीमा शृङ्खलाबद्ध लुटपाट गर्ने गिरोहको एक समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले लुटपाटमा संलग्नलाई विभिन्न हातहतियारसहित पक्राउ गरेको हो । झापाका विभिन्न स्थानमा रहेका सहकारीबाट लुटपाट गरेको आरोपमा उनीहरूलाई इटहरीबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १३ वटा घटनामा संलग्नहरूले ३० लाख १६ हजार छ सय ८७ रुपैयाँ लुटपाट गरेको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इटहरीबाट विभिन्न घरेलु हातहतियारसहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, सोही ठाउँका २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।

प्रहरीका अनुसार झापाको गौरादह नगरपालिकामा मात्रै दुईवटा सहकारी लुटपाट भएको थियो । जसमा गौरादह–५ स्कुलचौनस्थित जनहित सहकारी र सोही वडाको चप्रामारीस्थित महारानी झोडा सहकारी रहेको छ । सहकारीको कार्यालय फोडेर लुटपाट गर्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

चोरीमा संलग्न सबैलाई आइतबार झापा जिल्ला अदालतबाट चोरीको कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । उनीहरूलाई प्रहरीले यही वैशाख ७ गते पक्राउ गरेको थियो । उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, केही थान झोला र केही थान घरेलु हातहतियार बरामद गरेको छ । गत चैत ५ गते गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा पनि लुटपाट भएको थियो । करिब १२ लाख रुपैयाँ नगद चोरी भएको जनाएको छ ।

डिएसपी चन्दका अनुसार झापा हल्दीबारी गाउँपालिकाको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शाखा कार्यालयमा पनि चोरीको प्रयास भएको थियो । यस्तै हल्दीबारी गाउँपालिका–४ को साना किसान कृषि सहकारी संस्था, एकता बहुउद्देश्यीय सहकारी संस्थामा चोरी तथा लुटपाट भएको थियो । बिर्तामोड नगरपालिका–४ को कर्णाली बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी भएको थियो । विभिन्न समयमा सहकारीहरूमा लगातार चोरी हुन थालेपछि प्रहरीमा उजुरी साथै जिल्ला प्रशासन कार्यालयमा पनि ध्यानाकर्षण गराइएको थियो ।