विजयपुर । तेस्रो सुवास राई स्मृति कप अन्तर वडा सुपर ८ फुटबल प्रतियोगितामा धरान ११ र १८ बराबरी भएका छन् ।

शनिबार सम्पन्न दोस्रो दिनको खेलमा धरान ११ र धरान १८ बीचको प्रतिस्पर्धामा  १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा धरान ११ का बिक्कु राईले १ गोल गर्दा धरान १८ का सनक श्रेष्ठ पनि एक गोल गरे । खेलको म्यान अफ द म्याच धरान १८ का गोलकिपर सुशन श्रेष्ठ घोषित भए । उनले २ हजार ५ सयसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग अन्य वडाको कुल १५ खेल लिग चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बीच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ । सुवास राई स्मृति सुपर ८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७  ले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले २ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । आज (आइतबार) धरान ८ र ५ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।