धरान/ धरानमा तेस्रो सुवास राई स्मृति सुपर–८ फुटबल प्रतियोगिता हुने भएको छ । हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजना र धरान उपमहानगरपालिकाको संयोजनमा धरान–१६ स्थित धरान रङ्गशालामा वैशाख ७ देखि २२ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । त्यस्तै सोही खेलमैदानमा वैशाख १० गतेदेखि २२ गतेसम्म तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितासमेत आयोजना हुने आयोजक क्लबका संयोजक राकेश राईले जानकारी दिएका छन् ।

सुपर–८ प्रतियोगिताका संयोजक हेमकुमार गुरुङका अनुसार गत माघमा सम्पन्न भएको २४ औं गोधुली रनिङ कपको फाइनल खेलेका ८ वटा वडाका टिमहरू सहभागी रहनेछन्। अन्तरवडा  लिग कम नकाउटको आधारमा हुने प्रतियोगितामा जम्मा १५ वटा खेल हुनेछन्। त्यसमध्ये समूह चरणका १२ वटा खेल लिगको आधारमा खेलाइनेछ। समूहका विजेता र उपविजेता टिमबीच नकआउटका आधारमा सेमीफाइनल प्रतिस्पर्धा हुने बताइएको छ।

IMG20240417110740

गोधुलीको २४ औं संस्करणमा विजेता वडा १३ र उपविजेता वडा १७ भएका थिए। यी दुई वडाबाहेक क्वार्टरफाइनल खेल्ने वडाहरू ५, ६, ८, ११, १४ र १८ पनि सुपर–८ मा खेल्नेछन् । सुपर–८ को विजेतालाई पुरस्कार २ लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ५ सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र मायाको चिनो प्रदान गरिनेछ।

खेलका उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय, उत्कृष्ट डिफेन्सलाई ५ हजार ५ सय, उत्कृष्ट गोलकिपर, हाईस्कोरर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद ५ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी नकआउटका आधारमा हुने प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही २ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

आयोजक हाम्रो धरान भेट्रान क्लबका अध्यक्ष अशोक राईले स्वर्गीय सुवास राईले धरानको खेलकुदमा दिएको योगदानको सम्मान र युवाहरूलाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले  प्रतियोगिता आयोजना गर्दै आएको  बताए। प्रतियोगिताको लागि उपमहानगरपालिकाले ५ लाख विनियोजन गरेको छ भने स्वर्गीय सुवास राईको परिवारबाट केही आर्थिक सहयोग हुनेछ। अफिसियलहरूलाई परिवारबाट टिसर्ट उपलब्ध भएको क्लबले जानकारी गराएको छ।

त्यस्तै वैशाख १० बाट सुरु हुने हाम्रो धरान भेट्रान प्रतियोगितामा १२ टिमले खेल्नेछन्। प्रतियोगिताको पहिलो खेल मिल्स भेट्रान र दुहबी भेट्रानबीच हुनेछ । उर्लाबारी भेट्रान, धरान भेट्रान, मेघा भेट्रान, दुधे भेट्रान, लखनपुर भेट्रान, हाम्रो इटहरी भेट्रान र भरौल भेट्रान हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजारानी भेट्रानले सहभागी जनाउनेछन्। प्रतियोगितामा यसपटक मधेश प्रदेशबाट समेत टिमले सहभागिता जनाउने  संयोजक राकेश राईले बताएका छन्।

प्रतियोगितामा खेलाडीहरू ४० वर्ष उमेर नाघेका हुनुपर्नेछ भने हरेक टिममा एक जना ५० वर्षमाथि र ४८ वर्षमाथिको गरी २ जना खेलाडी अनिवार्य हुनुपर्ने संयोजक राईले बताए। वैशाख २२ गते फाइनल हुने प्रतियोगिताको विजेतालाई १ लाख ५ रुपैयाँ र उपविजेतालाई नगद ६० हजार ५ रुपैयाँका साथै मायाको चिनो ट्रफी प्रदान गरिनेछ।  खेलका बेस्ट प्लेयर पुरस्कार ५ हजार, हाईस्कोरर ४ हजार, डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट कोच र बेस्ट मिडफिल्डरलाई जनही ३ हजार नगद पुरस्कार, मायाको चिनो, मेडल प्रदान गरिनेछ।