विजयपुर । वराह बचत तथा ऋण सहकारीका सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्न माग गरिएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले वराह सहकारीलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही गर्न माग गरेको हो । अभियानका कोशी प्रदेश अध्यक्ष सपनकुमार तामाङले जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुलुकी फौजदारी संहिताअनुसार ठगी मुद्दामा कारबाही गर्न माग गरेका हुन् ।

तामाङले जिल्ला प्रशासन कार्यालयमा बुझाएको पत्रमा ‘धरान–८ मा सञ्चालित वराह बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीको मूल्य, मान्यता, सिद्धान्त र कानूनविपरीत भई कारोबार गरेर बचतकर्ता र शेयरसदस्यहरूको बचत रकम हिनामिना गरी विगत लामो समयदेखि बचत फिर्ता नगरिरहेको हुनाले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२१ को दफा २४९ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइदिनुहुन’ माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय आवश्यक समन्वय गरिदिन धरान उपमहानगरपालिकालाई पत्र पठाएको छ । सहकारी नियमन पालिकाको क्षेत्राधिकार भित्र पर्ने देखिएकोले आवश्यक समन्वय गरी कानूनी प्रक्रियाअनुसार आवश्यक कारबाही गर्नुहुन आदेशानुसार अनुरोध छ’ जिल्ला प्रशासनको पत्रमा भनिएको छ । जिल्ला प्रशासनको पत्र धरान उपमहानगरपालिकामा दर्ता गरेको अभियानका एक सदस्यले जानकारी दिए ।