खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।

वैशाख १ गते राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या गरेर फरार भएको आरोपमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्या गरी फरार उनीहरूलाई सोही नगरपालिकाको वडा नं. १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए । ‘धनजितको हत्यापछि फरार भएका उनीहरू तीनैजनालाई पाथेकास्थित भुसुन्दाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ’–उनले भने ।

उनीहरूले धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरू तीनैजनाले धनजितको हत्या आफूहरूले नै गरेको स्वीकार गरिसकेका छन् । धनजितको हत्यापछि भागेर भुसुन्दा पुगेका उनीहरू मावली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए । घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

साँझको समयमा भएको घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरी चौकी जालपा र प्रहरी चौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका थिए । धनजितको हत्यापछि राति नै भागेका उनीहरू तीनैजनालाई एउटै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् । छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिँला भाइलाई साँझ साढे सात बजे फोन सम्पर्क गरेको बताइएको छ । भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिए । मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृतक धनजित र भीमबहादुर गाउँमा सँगै मिलेर घर बनाउने मिस्त्री काम गर्दै आएका थिए । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उनकी श्रीमती अप्सरा भनिने प्रेमकुमारी पौडेल (बस्नेत) सामान्य घाइते भएका छन् । पक्राउ परेका विकास र आशन पहिला अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिखमा छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्दामा कारागार बसेर छुटेका थिए । (रासस)