विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक (सिनेट) चार वर्षपश्चात् बसेको छ । बैठक बजेट अनुमोदनदेखि अन्य निर्णय गर्दै सम्पन्न भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार सिनेट बैठक शुक्रबार सम्पन्न भएको हो । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ पछि सिनेट बैठक बस्न सकेको थिएन । सिनेट बैठकले प्रतिष्ठानका कानूनी जटिलता समाधान भएको बताउँदै रजिष्ट्रार सङ्गौलाले भने, ‘लामो समयदेखिको कानूनी जटिलता पार लगाउन सफल भएको छ ।’ लामो समयपश्चात् प्रतिष्ठानको  सिनेट बैठकले बसेपश्चात् बजेट अनुमोदन गर्नेलगायतका विषयमा छलफल भएको छ ।’

प्रतिष्ठानका शिक्षक कर्मचारी तथा इन्टर्नहरूको सरकारले गरेको निर्णय अनुसार तलब वृद्धि गर्ने पनि निर्णय भएको छ । वाह्य स्रोतबाट राखिएका कर्मचारीको तलब वृद्धिका विषयमा पनि छलफल भएको छ । तलब वृद्धि गर्दा हुने आर्थिकभार कसरी व्यवस्थापन गर्ने विषय पनि छलफल भएको छ ।

यस्तै अस्पताल, एकेडेमिक तथा आर्थिक पक्षमा छलफल भई पारित भएको छ । सिनेट बैठकबाट अनुमोदन नगरी २५ प्रतिशत मात्र बजेट खर्च गर्न मिल्छ । सिनेट बैठकमा प्रतिष्ठानका चार जना नै पदाधिकारीले प्रतिवेदन पेश गरेका थिए । शिक्षक तथा कर्मचारीको बढुवाको कुरा पनि अघि बढाउने कुरा भएको छ ।

बैठकबाट पारित भएका कुराहरू लिखित आउन बाँकी छ । सिनेट बैठक उपकुलपति डा. ज्ञानेन्द्र गिरी सदस्य–सचिव हुन्छन् । डा. गिरी र स्वास्थ्य मन्त्री उपेन्द्र यादवबीच कुरा भएको प्रमाणीकरण गरे पश्चात् निर्णय सार्वजनिक हुनेछ ।