विजयपुर । चौथो संस्करणको विक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान क्लब च्याम्पियन बनेको छ ।

शुक्रबार धरान रङ्गशालामा सम्पन्न फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रान च्याम्पियन बनेको हो । च्याम्पियन हाम्रो धरानले १ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । साविक विजेता धरान भेट्रानलाई पराजित गरी हाम्रो धरान पहिलो विजेता बनेको हो । निर्धारित ६० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा हाम्रो धरानका पदम राई, कृष्णकुमार लिम्बू, राकेश राई, सुरज श्रेष्ठ र राज राईले गोल गरे ।

आयोजक धरान भेट्रानका विक्रम श्रेष्ठ, कृष्ण शाक्य र विष्णु सुनुवारले गोल गरे । सन्तोष बस्नेतको प्रहार बाहिरियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान भेट्रानका विष्णु सुनुवार घोषित भए । उनले ५ हजार १ सय रुपैयाँ प्राप्त गरे । बेस्ट गोलकिपर हाम्रो धरानका देव सिंह, बेस्ट डिफेन्स हाम्रो धरानका विकास रानामगर, बेस्ट मिडफिल्डर धरान भेट्रानका रमेश गुरुङ र बेस्ट कोच हाम्रो धरानका हेम गुरुङ घोषित भए । उनीहरूले जनही ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । सर्वाधिक गोलकर्ता धरान भेट्रानका डिल्लीराम श्रेष्ठ घोषित भए ।

उनले खेल अवधिभर ५ गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच धरान भेट्रानका कृष्ण शाक्य घोषित भए । समापनमा विजेता र उपविजेता टिमलाई कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतले पुरस्कार प्रदान गरे ।