विजयपुर । २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा फुटबल प्रतियोगिताको नाफा १७ लाखमाथि देखिएको छ ।

बिहीबार प्रतियोगिताको आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गरेको छ । प्रतियोगितामा कुल आम्दानी ७६ लाख २४ हजार ५ सय ८५ रुपैयाँ आम्दानी भएको छ भने ५८ लाख ९५ हजार ६ सय रुपैयाँ खर्च भएको क्लबले जनाएको छ ।

कुल नाफा १७ लाख २८ हजार ९ सय ८५ रुपैयाँ भएको छ । क्लबलाई २५ लाख रुपैयाँ प्राप्त हुन पनि बाँकी रहेको छ । क्लबका कोषाध्यक्ष धनबहादुर राईका अनुसार कोशी प्रदेश खेलकुद विकास बोर्डबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद् काठमाडौँबाट १० लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ  ।

२५ लाख रुपैयाँ प्राप्त भएमा कुल ४२ लाख २८ हजार ९ सय २५ रुपैयाँ नाफा हुनेछ । क्लबका अध्यक्ष प्रताप तामाङले क्लबलाई नाफा हुनुमा मुख्य कारण मितव्ययिता भएको बताए । उनले प्रतियोगिताको सुरुवातदेखि नै खर्चलाई नियन्त्रण गरेको बताए ।

प्रतियोगिता सम्पन्न भएको एक महिनाभित्र आय–व्यय सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो । गोल्डकपको २४ औं संस्करण गत फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म आयोजना भएको थियो ।