धरान । गत असोज १० गते वराह बचत तथा ऋण सहकारी संस्था र ललितपुरको जेसिका कन्स्ट्रक्सन एन्ड रियल स्टेट प्रा.लि.बीच पीडितलाई जग्गा बिक्री गरी दायित्व घटाउने विषयमा सहमति भयो । सहमति भए पनि प्रमाणित नभएपछि पुनः माघ २६ गते धरान उपमहानगरपालिका–२ मा दुई पक्षीय सहमतिलाई आधिकारिकता प्रदान गरियो ।

उक्त सहमतिको १३ नम्बर बुँदामा भनिएको छ, ‘यस करारका पक्षहरूमध्ये द्वितीय पक्ष जेसिका कन्स्ट्रक्सन एन्ड रियलस्टेट प्रा.लि.को माध्यमबाट मात्र एकद्वार प्रणालीमार्फत् प्रथम पक्षको संस्थामा रहेका लगानीकर्ताहरू तथा बचतकर्ताहरूलाई घरजग्गाको कारोबार तथा बिक्री वितरण गरिनेछ ।’ जेसिकाका सञ्चालक इन्द्रकुमार राईले एकद्वार प्रणाली अपनाउने भने पनि सोअनुसार नभएको दाबी गरे । तर, हाल वराहसँगको दायित्व घटाउने सवालमा जेसिका मात्रै नभई ‘द ड्रिम राइज रियल स्टेट सोलुसन’ र रोशन राई एन्ड कम्पनीसँग पनि फरक–फरक मितिमा सम्झौता गरिएको छ । कागजी प्रमाणहरू हेर्दा यी तीनैवटा संस्थाको आफ्नो कम्पनीको नाममा केही प्लटहरू भए पनि केही चाहिँ ‘बिचौलिया’ को माध्यमबाट दायित्व घटाउने कार्य गरिरहेका छन् । यी तीन संस्थामध्ये जेसिकाले साविक भरौल कालाबञ्जार–३ ‘ग’ हर्दियाको १ सय १७ वटा घडेरी प्लानिङ गरेको छ ।

उक्त जग्गा जेसिकाको नभई शोभा थापा, रिमा थापा, माधुरी थापा, बिनिता थापा, अनिता थापा आचार्य, सीमा थापा र सुनिता थापाको नाममा रहेको छ । यी जग्गाधनीसँग जेसिकाले कुनै पनि सम्झौता गरेको देखिँदैन । जबकि जेसिकाले आफ्नो व्यवसायका कारोबारहरूमा ‘आफ्नै वा कबुलियत घरजग्गा कारोबारका क्रियाकलापहरू’ गर्ने भनी उल्लेख गरेको छ । उक्त संस्था ललितपुरको महालक्ष्मी नगरपालिका–६ शीतलहाइट ठेगाना रहेको छ । यस संस्थाले हालसम्म शाखा विस्तार गरी सञ्चालन गर्ने भनी सम्बन्धित निकायहरूमा अनुमति लिएको अवस्था छैन । यता जेसिकाका सञ्चालक इन्द्रकुमार राईले वराहसँग गरिएको सम्झौताअनुसार भरौल–९ (क) को ३२ वटा घडेरी मात्रै आफ्नो दायित्वअन्तर्गत रहेको बताए । ‘जेसिकाको त्यहाँ एउटा मात्रै प्लट छ, अन्य प्लटमा हाम्रो संलग्नता छैन’ उनले फोनसम्पर्कमा भने, ‘तर, धेरैतिर जेसिकाकै भनेर बाहिर बाहिर पनि त्यो काम भइरहेको छ । त्यसो गर्दैछन् रे भन्ने कुरा सुनिरहेको छु । म आफैले पनि मिटिङमा कुरा उठाइरहेको छु ।’ उनले आफूले बिक्री गरेको प्लटहरूका विषयमा लिखित रूपमा नै दिएको दाबी गरे । ‘त्यो जग्गा कृतिका कन्स्ट्रक्सन एन्ड इन्टेरियल डेकोरअन्तर्गतको हो । त्यो पनि मेरै नामको संस्था हो’ उनले भने, ‘प्राइम बैङ्कअन्तर्गत काम गरिरहेको छु । जग्गा लिएकाहरूको हकमा म आफैले जिम्मा लिएको छु ।’

यस्तै भरौल–५ इन्द्रेणी चोकमा २८ वटा घडेरी, मोरङको बयरवन–८ (ख) को ४७ वटा घडेरी, बयरवन–८ (ठ) को ३२ वटा घडेरी, सुनसरीको इटहरीको गैसारमा ७६ वटा घडेरी बिचौलियामार्फत् जेसिकाले नै काम गरिरहेको एक स्रोत बताउँछ । ‘उसको खुद प्लानिङ भरौल–९ (क) हो, अरू चाहिँ विना सम्झौता, बिचौलियामार्फत् काम गरिरहेको छ’ एक स्रोत बताउँछ, ‘हर्दियातिर जेसिका प्रा.लि.अन्तर्गत नै काम गरिरहेको छ ।’ स्रोतका अनुसार हर्दियाको फिल्डमा जेसिकाले अनौपचारिक रूपमा कमिसनको खेलमा काम गरिरहेको छ । हर्दियाको जग्गामा हाल घटाएको दायित्वहरूमा पनि जेसिकाकै लेटरप्याडभित्र काम भइरहेको त्यो स्रोत बताउँछ । यता इन्द्रकुमार राईले भने अन्यमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट्याए । 

यस्तै द ड्रिम राइज रियल स्टेट सोलुसनले पनि वराहको दायित्व घटाउने भन्दै धरान–८ स्थित वराहको भवनमा कार्यालय खोलेको अवस्था छ । यसले मोरङको ग्रामथान–७ हरैंचामा १ सय १ वटा घडेरी र बेलबारी नगरपालिका–४ साविक कसेनी वडा नम्बर २ मा ८५ वटा घडेरी बिक्रीका लागि खुलाएको अवस्था छ । कहीँकतै पनि संस्थागत जग्गा भने देखिँदैन । सोलुसनका प्रतिनिधि अर्जुन गहतराजले वराहसँग बेलबारी र सुन्दरहरैंचाको जग्गा प्लानिङसँग मात्रै सम्झौता भएको बताए । ‘हामीले जुन प्रोजेक्टको जिम्मा लिएका छौँ । त्यहीँ मात्रै काम गरिरहेका छौँ’ उनले भने, ‘हामीले भन्दा नै उत्तम विकल्प चाहिँ होइन, अहिले जुन लगानी गर्नुभएको छ, दुई– चार वर्षमा वराहमा डुबेको पैसा उठ्छ भनी स्पष्ट पारेर दिएका छौँ । हामी दायाँ–बायाँ सहीछाप गराएर दिएका छौँ । करकाप छैन ।’ हालसम्म वराह सहकारीले २०८० चैत १ गते धरान उपमहानगरपालिकास्थित आर्थिक विकास महाशाखा, सहकारी विभागमा बुझाएको प्रगति एवम् वित्तीय विवरणमा नौ करोड ६३ लाख ६१ हजार नौ सय ७३ रुपैयाँ आर्थिक दायित्व फिर्ता गरिएको जनाएको छ । वराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले पेश गरेको विवरणमा लेखिएको छ, ‘जग्गा सम्पत्तिको स्वामित्व हस्तान्तरण एवम् ऋण असुलीबाट प्राप्त रकमबाट २०८० फागुन ३० गतेसम्म ९ करोड ६३ लाख ६१ हजार ९ सय ७३ रुपैयाँ बराबरको दायित्व फिर्ता गरिएको व्यहोरा जानकारी गराउँदछौँ ।’

पीडितहरू थप पीडित
वराहले दायित्व घटाउने बहानामा पीडितलाई थप पीडित बनाउने काम गर्दै आएको छ । जग्गाको बजारमूल्यभन्दा दुई गुणा बढी रकम असुल गरेर जेसिका तथा द ड्रिमले ‘बिचौलिया’ मार्फत् जग्गाको कारोबार गरिरहेको छ । जेसिकासँग वराहले गरेको दुई पटकको सम्झौताको पहिलो बुँदामा लेखिएको छ, ‘प्रथम पक्षको सहकारी संस्थाका बचतकर्ताहरूलाई तपाईं दोस्रो पक्षले उपलब्ध गराउने प्लट एवम् जग्गा जमिनको मूल्य स्थानीय चलनचल्तीको अनुसार मूल्यको हुनुपर्नेछ । सो बमोजिम भए नभएकोबारे वराह सहकारी पीडितहरूको तर्फबाट गठित उपसमितिको तर्फबाट अनुगमन निरीक्षणपश्चात् उचित भएमा मात्रै कारोबार गर्नुपर्नेछ ।’

पीडितमध्येका धरानवासी युकेश श्रेष्ठ भन्छन्, ‘हामीले त्यो ठाउँ (कालाबन्जार) मा गई जग्गाको टोकन बैनासमेत गरेका थियौँ । पछि जग्गाको मूल्य बुझ्दा त दुई गुणा नै महँगो रहेछ । १ लाख १५ हजारको भाउमा पाउने जग्गा २ लाख ५० हजार रुपैयाँसम्म लिने गरेको पायौँ । जबकि स्थानीयले हामीलाई रोडमा पनि यति पर्दैन भनेर भने ।’ उनका अनुसार पछि उक्त ८ हजार रुपैयाँ बैना पनि फिर्ता मागेका थियौँ । ‘खास जग्गाको मूल्य १५ लाख छ भने ३० लाख रुपैयाँ भन्ने रहेछन्’ उनले भने, ‘अनि हामी पीडितले पनि फेरि आधा थपेर दिनुपर्ने ।’

अर्का पीडित कोपिला कार्कीले जग्गाको वास्तविक मूल्य थाहा नभए पनि सबैले महँगो नै लिने गरेको भनेपछि आफूले जग्गा नलिएको बताइन् । ‘सुरुमा मलाई मोरङ र झापाको सीमामा रहेको जग्गा देखाए । जग्गा मन पनि प¥यो । तर पछि फेरि जग्गामा समस्या आयो कालाबन्जार, सुन्दरहरैंचातिरको लिनू भनेर भन्दै थिए’ उनले भनिन्, ‘बाहिर बाहिर महँगो भन्ने आइरहेकाले अरू ठाउँको जग्गा हेरिनँ ।’ अर्का पीडित खेम घिमिरेले आफूलाई पैसा बराबरको जग्गा दिनू भन्दा आधा पैसा थप्नुपर्ने भनेपछि नलिएको बताए । ‘सावाँ ब्याज बराबरको जग्गा दिनुप¥यो या त क्यास दिनुप¥यो भनेको तर आधा थप्नु पर्छ भने’–उनले भने । कतिपय सहकारी पीडितहरूले भने पैसा गुम्ने डरले महँगो मूल्य हालेर भए पनि जग्गा खरिद गरेका छन् । २०८० पुस २० गतेदेखि हालसम्म ४४ जनाले जग्गा लिई दायित्व घटाएको वराह सहकारीले उल्लेख गरेको छ ।

जेसिकाले कमिसन बुझाउनुपर्ने सम्झौता

barah dream123
गत असोज १० गते गरिएको दुई पक्षीय सहमतिको चौथो बुँदामा दोस्रो पक्ष (जेसिका)ले प्रथम पक्ष (वराह सहकारी)लाई कारोबार हेरी २ देखि ५ प्रतिशतसम्म रकम बुझाउनुपर्ने उल्लेख छ । तर, यअसघि वराह पीडितसँग नै कमिसन मागेको जग्गा कारोबारी पूर्ण गहतराजले ब्लाष्टलाई बताएका थिए । समन्वय समितिले कमिसन मागेपछि समस्या भएको थियो । खासमा जेसिकाले नै बचतकर्ताहरूबाट प्राप्त रहमको कारोबार हेरी दुईदेखि पाँच प्रतिशतसम्म रकम दोस्रो पक्षले प्रथम पक्षको संस्थाको कोषमा उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

करार लिखतमा भनिएको छ, ‘बचतकर्ताहरूबाट प्राप्त रकमको कारोबार हेरी २ देखि ५ प्रतिशतसम्म रकम दोस्रो पक्षले प्रथम पक्षको संस्थाको कोषमा उपलब्ध गराउनु पर्नेछ ।’ २१ बुँदे सम्झौतामा वराहबाट मानबहादुर विश्वकर्मा र जेसिकाबाट सञ्चालक इन्द्रकुमार राईले हस्ताक्षर गरेका छन् । तर, बचतकर्ताले कमिसन नदिएको नाममा अहिले दायित्व घटाउने काम नै रोकिएको भनी पूर्ण गहतराजले बताएका थिए ।