वि.सं. २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाको भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर । खुसी के हो ? समाज के हो ? जिम्मेवारी के हो ? भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन । त्यहीबेला १२ वर्षकै उमेरमा उहाँको विवाह भयो । समय त्यस्तै थियो, कलिलो काँधमा असाधारण जिम्मेवारीको भारी थपिएपछि सकिनसकी माइतीको इज्जत र पोइलीघरको जिम्मेवारी धान्नैपर्ने भयो । ‘कलिलै उमेरमा जिम्मेवारी थपियो । जानेको केही थिइनँ । त्यो समय र आफ्नो जीवन नै बोझ लाग्दै थियो । के गर्ने, के नगर्ने छुट्याउने उमेर पनि त भएको थिएन नि १ तर, पनि बाँच्नु त प¥यो’–उनले त्यो समय सम्झिँदै भनिन् । मञ्जुलाको उमङ्गविहीन त्यो समयलाई रङ्गीन बनाउन आमाले सिकाइदिएको ‘पेन्टिङ कला’ रङ भर्ने माध्यम बन्यो । जीवनमा रङ भर्ने माध्यम मात्रै बनेन, स्वावलम्बनको आधार र घरमा बसेर आश्रित जीवन बाँचिरहेका अरू नारीहरूलाई सङ्गठित गर्ने आधार पनि बन्यो । २०४८ सालको समय हुँदो हो, महिना त ठ्याक्कै भन्न सक्नुभएन उहाँले । अर्धघुम्टोमा घरको चौघेरा नाघेर निस्किएको वर्ष थियो त्यो ।

‘केही समय घरमै बसेर आफ्नो कलालाई निखारँे । पछि २०४८ सालतिर घरबाट समाजमा निस्किएँ । त्यो बेला महिलालाई घरबाट निस्किनै समस्या थियो । मलाई पनि सुरुमा त्यस्तै भयो । तर, हिम्मत हारिनँ । बिहे, चाडपर्वको बेला घरघरमा गएर वाल पेन्टिङ गर्न थाल्यौँ’ मञ्जुलाले त्यो समय सम्झिइन्, ‘सुरुमा गाह्रो भयो । गाउँघरको मान्छे कुरा काट्थे । कता जान्छ ? के गर्छ ? अरूसँग किन हिँड्छ ? जस्ता अनेक लाञ्छनासहितका प्रश्नले उडाउँथे । तर, त्यसको कुनै परवाह गरिनँ । समय परिवर्तन हुँदै गयो । काम गर्दै जाँदा पैसा आउन थाल्यो । आयआर्जन भएपछि घरका समस्याहरू टार्न सहज भयो ।’ गृहिणीको पहिचान कलाकर्मीमा बदलियो । त्यसपछि परिवारबाट समेत थप साथ पाउन थालिन् उनले । त्यसपछि त मञ्जुलाको समय, दिनचर्या नै बदलियो । अर्थोपार्जन भयो । समाजको भरोसा थपियो । अर्धघुम्टो पूरै उघार्ने अवस्था बन्यो । मञ्जुला भन्छिन्, ‘मैले आफू मात्रै होइन, घरघरमा सीमित रहेका र घुम्टोसमेत उघार्न नचाहने महिलाहरूलाई आफ्नो अभियानमा जोड्न भूमिका खेले, जसका कारण अरू थुप्रै दिदीबहिनीलाई आर्थिक रूपले सबल बनाउन निकै सहयोग पुगेको छ । आर्थिक रूपले सबल हुनु भनेको महिलाको आत्मसम्मान र प्रतिष्ठासमेत बढ्नु हो नि !’
कुनैबेला यस्तो समय आयो कि मञ्जुलालाई भ्याई नभ्याई भयो । आफ्नै समाजका चौकचौतारा, बजार, गल्लीहरूमा जानसमेत नपाउने जनकपुरकी एक महिला मञ्जुला पाँच पटक त धेरैले सपनाको देश भनिने अमेरिका पुगिन् । त्यो क्षण सम्झिँदै उनी भन्छिन्, ‘त्यसबेलाको मधेशी समाजकी एउटा बुहारी, छोरी, श्रीमती, दिदीबहिनीलाई हेर्ने दृष्टिकोण सम्झिँदा पनि नमीठो लाग्छ । मैले संस्कारको नाममा छोपिएको घुम्टो उघार्ने हिम्मत नगरेको भए आज यहाँ पुग्थिनँ होला । घुम्टोदेखि अमेरिकासम्मको त्यो चक्र सम्झिँदा रोमाञ्चित पनि हुन्छु र दुःखी पनि । अहिलेको नयाँ पुस्ताका छोरी बुहारीलाई त धेरै सहज छ । अब उहाँहरू अगाडि आउनुपर्छ । त्यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।’

मञ्जुलाको कुरा सुन्दा २६ वर्षअघिको मधेशको मुस्लिम समाजको याद आउँछ । त्यसमा पनि श्रीमान् गुमाएकी एउटा नारीको अवस्था । तर त्यसलाई चिरेर अगाडि बढिन् जनकपुरधाम उपमहानगरपालिका–४ शान्तिनगरकी मुन्नी खातुन । छ छोरी र एक छोराकी आमा मुन्नीको जीवनमा एकाएक बज्रपात भयो । २७ वर्षअघि श्रीमान् बिते । एक्लो ज्यान भए त जेनतेन जीवन चल्थ्यो होला तर, उनीमाथि ती सबै लालाबालाको पालनपोषण गर्ने जिम्मेवारी आइलाग्यो । विकल्पहरू केही थिएनन् । ‘हिम्मत हार्नु हुँदैन रहेछ, अल्लाहले विकल्प दिइहाल्दा रहेछन् ! घरमा सामान्य सिकेको पेन्टिङ कलालाई जीविकोपार्जनको आधार बनाउने सोच आयो । मेरो सीपलाई निखार्ने अवसर भने केही समयअघि खुलेको नारी विकास केन्द्रले दियो’ खातुनले भनिन्, ‘धन्न त्योबेला छ–सात सयमा परिवार चल्थ्यो । अहिले त जति पैसा भए पनि पुग्दैन । त्यसमा पनि पेन्टिङको कुनै मूल्य नै छैनजस्तो लाग्छ ।’

खातुनले यही पेशाबाट घरपरिवारको लालनपालनदेखि छोराछोरीको बिहेसम्म गरिदिएको सुनाइन् । उनी भन्छिन्, ‘हो, पेन्टिङबाटै यो सबै सम्भव भएको हो । यदि यो सीप नभएको भए मैले सात छोराछोरीसहितको परिवार कसरी पालनपोषण गर्थें होला ? यही चित्रकलाबाट घरबार चल्यो, छोराछोरीको विवाह गरियो ।’ जनकपुरधाम–१० देवीचोककी सीतादेवी कर्णलाई पनि मिथिला चित्रकलाले नाम, दाम र प्रतिष्ठा सबै दियो । यहीँ कलाले उनलाई बेल्जियम, अमेरिका, काठमाडौँलगायत भारतका विभिन्न ठाउँमा गएर आफ्नो कला प्रदर्शन गर्ने अवसर दियो । त्यसबाट आएको पैसाले परिवारको लालनपालनमा सहयोग पुग्यो । ‘म तीस वर्षदेखि यहीँ काम गरिरहेकी छु । गाह्रो अप्ठ्यारो त जुनसुकै पेशामा हुन्छ नै । तर, यही पेसाले मजस्ता तमाम नारीलाई नयाँ पहिचान दियो । देश दुनियाँ हेर्ने अवसर दियो’ उनी भन्छिन्, ‘आफ्नो जीवन र आँखाको ज्योति रहेसम्म यो कलामा समर्पित हुने चाहना छ । अब नयाँ पुस्तालाई यो क्षेत्रमा अगाडि बढ्नका लागि आफ्नो तर्फबाट सक्दो सन्देश फैलाउने योजना छ । कर्णलाई मिथिला चित्रकलाप्रतिको लगाव भने उनकी आमाले जागृत गराएकी हुन् । त्यसलाई निखार्ने अवसर भने जनकपुर नारी विकास केन्द्रले दिएको हो । ‘म बच्चादेखि नै यो कलामा लागेकी हुँ । मेरो आमाले चाडपर्वमा गोबर, चामलको पिठोबाट परम्परागत चित्रकला बनाउनुहुन्थ्यो । त्यहीँबेलादेखि चित्रकला सिक्ने भोक जोगको हो । नारी विकास केन्द्रले त्यसलाई निखार्न अभिप्रेरित ग¥यो । त्यसको प्रस्थानविन्दु भने २०५० साल थियो’–कर्णले भनिन् ।

सो संस्थाले त्यस वर्ष ६३ जनालाई सहभागी गराएर चित्रकला प्रदर्शनीसहित अन्तरवार्ता लिँदा त्यसबाट उत्कृष्ट प्रतिस्पर्धीका रूपमा छनोट भएर काम सुरु गरेको कर्णले जानकारी दिइन् । त्यसपछि नै उनको व्यावसायिक जीवन सुरु भएको हो । उनले ६ महिनामै शाखाको व्यवस्थापक र मास्टर आर्टिस्ट, पछि संस्थाको सचिव, कोषाध्यक्ष र अध्यक्ष हुँदै २२ वर्षसम्म त्यहाँ काम गरेको स्मरण गरिन् । उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य पनि बनिन् ।

जनकपुरधाम–१० निवासी सुलोचना कर्णले पनि विगत ३० वर्षदेखि मिथिला चित्रकला कोर्दै आएकी छन् । निर्जीव वस्तुमा कोर्ने यही चित्रकलाले आफ्नो जीवनलाई नै जीवन्त बनाइदिएको उनको बुझाइ छ । ‘यही काम गरेर आफ्नो पहिचान बनाएँ । थोरै भए पनि यो कामबाट आर्जेको पैसाले घरपरिवार चलाउन योगदान पुग्यो । यो भन्नुको अर्थ त्यसले मलाई स्वावलम्बी, आत्मनिर्भर र प्रतिष्ठित जीवन बाँच्नका लागि जीवनमै रङ भरिदियो’ –उनले भनिन् । अरुणा हिङ्माङ अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य छिन् । प्रतिष्ठानको हस्तकला विभाग प्रमुख तथा मधेस प्रदेश समन्वय समिति संयोजकसमेत रहेकी उनी मिथिला चित्रकलामार्फत् समाज परिवर्तन, विद्रोह, समाजका सुशुप्त आवाज, नारी समानताको वकालत गर्ने नारीवादी चित्रकारका रूपमा चिनिन्छिन् । हिङ्माङ यही कारणले आफूलाई प्रतिष्ठित संस्थाको प्राज्ञ बनाएको बताउँछिन् ।

‘चित्रकला भनेको सौन्दर्य र सजावटका लागि मात्रै होइन, यो समाज परिवर्तनका लागि आवाज उठाउने सशक्त माध्यम पनि हो । मिथिला चित्रकला त यहाँका सीमान्त नारीहरूमा सुशुप्तरूपमा रहेको विद्रोहको चेतनालाई प्रस्फुटित गर्दै आर्थिक, सामाजिक र नेतृत्व क्षमता विकासमा टेवा पु¥याउने आधार पनि हो’–हिङ्माङ भन्छिन् । ललितकलाले पनि अनुसन्धान, सिर्जना र सम्मानका खातिर काम गर्दै आएको र आफ्नो उपस्थितिपछि मधेशका चित्रकारहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको बताइन् । ‘यहाँको कलालाई थप प्रवद्र्धन गर्न पहिलोपटक (यही चैत २ देखि ५ गतेसम्म) ललितकला प्रदर्शनी सम्पन्न गरेका छौँ । त्यसले यहाँका प्रतिभाहरूको सिर्जनाको सम्मान र नारीहरूलाई थप क्रियाशील हुन सहयोग गरेको छ । आगामी दिनमा पनि थप कार्यक्रम ल्याएर यहाँका महिलाहरूलाई आर्थिकरूपमा टेवा पुग्ने गरी सीप निखार्ने खालका कार्यक्रम ल्याउने योजना छ’–उनले भनिन् ।

हुन त मिथिला चित्रकला मिथिलाञ्चलको पहिचान, कला, संस्कृति, भाषा, साहित्यको त्रिवेणी हो । त्यसैले यहाँका हरेक नारीहरू कुनै न कुनै रूपमा यो सीपसँग परिचित छन् । त्रेता युगमा मिथिला नरेश रामलाई जनकपुरमा स्वागत गर्न राजा जनकले यहाँका भित्ताभित्तामा मिथिला चित्र बनाउन लगाएको किंवदन्तीबाट सुरु भएको यो मौलिक सभ्यतालाई विशेषगरी यहाँका तिनै नारीहरूले धानिरहेका छन् । शदिऔँदेखि सामान्यतः बिहे, व्रतबन्ध, चाडपर्वमा घरआँगन रङ्गाउन प्रयोग हुने यो कला महिलाले आफ्नो मनोभाव चित्रमार्फत् व्यक्त गर्ने एक माध्यमका रूपमा मात्रै सीमित थियो । वि.सं. २०५० पछि भने महिला स्वतन्त्रता, सम्मान र स्वावलम्बनका लागि बलियो आधार बनेको छ । त्यसको ठूलो श्रेय नारी विकास केन्द्रलाई जान्छ । विगतमा मिथिला क्षेत्रको सिङ्गो लोकगाथा, सभ्यता र मधेशको जीवन बोक्दै आएको यो कलाले पछिल्लो समय यहाँका नारीहरूको आर्थिक जीवनलाई पनि उचाल्न सघाउ पुगेको छ ।

‘घुम्टो उघारेर अमेरिकासम्म पुग्ने । आर्थिक स्रोतमा बलियो पकड जमाउने र निर्भीकतापूर्वक स्वतन्त्र जीवन बाँच्ने आधारका रूपमा मिथिला चित्रकलालाई लिन सकिन्छ’ मिथिला चित्रकलालाई आधुनिक स्वरूप दिन योगदान दिएका डा. राजेन्द्र विमल भन्छन्, ‘मिथिला चित्रकला यहाँको भाषा, कला, साहित्य र संस्कृतिको सङ्गम हो । यसले मैथिल सभ्यता बोल्छ । यहाँको लोकजीवन बोक्छ । नारी हृदयबाट प्रस्फुटित आत्मिक भाव र रूपलाई शब्दचित्रमा ओकल्छ ।’ यसलाई थप सशक्त र व्यवस्थित बनाउने कार्यको सुरुवात भने नारी विकास केन्द्रको स्थापनापछि भएको डा. विमलको पनि भनाइ छ ।

‘मिथिला चित्रकला यहाँका नारी, समाज र लोकआस्थालाई छुट्याउन सकिँदैन । त्यसैले यहाँका नारीहरू कुनै न कुनै रूपमा यससँग परिचित नै छन् । तर, त्यसलाई व्यावसायिक बनाउने र जीविकोपार्जनको सशक्त आधार तय गर्ने कामचाहिँ त्यही केन्द्रले गरेको हो ।’ जनकपुर नारी विकास केन्द्रका व्यवस्थापक अभिनव अंशु नारी सशक्तीकरण र आत्मनिर्भरताका लागि यहाँका नारीमा रहेको कलालाई निखार्न केन्द्रले ठूलो सहयोग गरेको बताउँछिन् । विशेषगरी नेपाली मिथिला क्षेत्रमा सीमित चित्रकलालाई विश्वजगत्मा फैलाउन र घरमा सीमित रहेर आश्रित जीवन बाँचिरहेका महिलालाई आर्थिक, सामाजिक रूपमा सशक्त बनाउँदै संसार देख्न र बुझ्न यही संस्थाले जग निर्माण गरिदिएको उनको भनाइ छ ।

‘मैथिल नारीहरूसँग केही न केही सीप छ । तर त्यसमा निखार र प्रचारको अभाव थियो । मिथिला चित्रकला, हस्तकला, सिलाइ र छपाइका सामग्रीमा सुन्दरता भरेर आर्थिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले महिलालाई सशक्तीकरण गर्न हाम्रा अग्रजहरूले यो संस्था निर्माण गरेका थिए । त्यसको निरन्तरता दिइरहेका छौँ’ उनी भन्छिन्, ‘तर, यसलाई समयसापेक्ष विकासका लागि हामीले मात्रै चाहेर धेरै कुरा हुने अवस्था छैन ।’ नेपालको मौलिक मिथिला पेन्टिङको माध्यमबाट संसारमा चिनाउने र नारी समानता तथा स्वावलम्बनका लागि महत्वपूर्ण योगदान गर्नसक्ने भएकाले यस क्षेत्रको विकासका लागि सामूहिक पहलकदमी जरुरी छ । (रासस)