विजयपुर । भिजन फिटनेस धरानका विनोद नेपाली पाँचौं मिस्टर कोशी बनेका छन् ।

एलाइनेट जिमको २१ औं प्रस्तुतिअन्तर्गत शनिबार सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा भिजन फिटनेस धरानका नेपाली विजेता बनेका हुन् । नेपाली ६५ केजी तौल समूहको विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, ५० हजार रुपैयाँ बराबरको मल्टिसेट ब्रेन्चप्रेस प्राप्त गरे ।

यस्तै धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान दोस्रो, न्युट्री हब तरहराका प्रदीप महतो तेस्रो, एनिटाइम फिटनेस धरानका उमेश राई चौथो र झुनाज फिटनेसका उत्सव लिम्बू पाँचौं बनेका छन् । उनीहरूले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।

व्यक्तिगत विधातर्फ धरान फिटनेस क्लबका लक्ष्मी मोक्तान बेस्ट पोजर, भिजन फिटनेसका विनोदकुमार नेपाली मोस्ट इम्प्रुभमेन्ट, फ्लेक्स फिटनेस केराबारीका डेविड राई मस्कुलर म्यान र बेस्ट टिम भिजन फिटनेस घोषित भएको छ । उनीहरूले जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाण–पत्र प्राप्त गरे । विजयीहरूलाई कोशी प्रदेशसभा सदस्य विजयकुमार राई, एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरे ।

धरान–१३ स्थित कभर्डहलमा सम्पन्न प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी समूहका कुल २२ जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायकमा शिव मुखिया र सहयोगी निर्णायकमा हरि धिमाल, ईश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सीता राई श्रेष्ठ रहेका थिए ।