विराटनगर । मोरङ विराटनगर–४ को यातायात व्यवस्था सेवा कार्यालयमा बिचौलियाले सेवाग्राहीबाट चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा स्वास्थ्य परीक्षणको नाममा अनावश्यक रकम असुल्ने गरेको पाइएको छ ।

कार्यालयको भूइँतलाको १२ नम्बर कोठामा निःशुल्क हुने स्वास्थ्य परीक्षणमा चिकित्सककै मिलेमतोमा सेवाग्राहीसँग पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म रकम लिने गरेको खुलेको छ । नयाँ सवारी अनुमति पत्र (लाइसेन्स) लिन र नवीकरण गर्न अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरिनुपर्ने हुन्छ । विराटनगर–६ का सोनुकुमार दासले सन् २०२४ फेब्रुअरी २६ तारिखका दिन सकिएको लाइसेन्स नवीकरण गर्दा स्वास्थ्य परीक्षणको नाममा पाँच सय रुपैयाँ लिएको बताए । ‘निःशुल्क स्वास्थ्य परीक्षण भनिएको छ तर, सेवाग्राहीसँग मनलाग्दी रकम लियो’–उनले भने ।

मेडिकल अफिसर डा. धर्मेन्द्र साहले चालु आर्थिक वर्षको असार मसान्तसम्म एक वर्षका लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भनेर यातायात व्यवस्था सेवा कार्यालय विराटनगरसँग सम्झौता गरी काम सुरु गरेका थिए । उनले काम सुरु गरेको ९ महिना पुगेको छ । स्वास्थ्य परीक्षणको नाममा चिकित्सक साहले परिचालन गरेका दुई सहयोगीले पाँच सयदेखि एक हजार रुपैयाँसम्म सेवाग्राहीबाट लिने गरेको गुनासो सेवाग्राहीको छ । चिकित्सक साहका सहयोगी दिनेश चौधरीले आँखा परीक्षणमा फेल भएका सेवाग्राहीबाट पाँच सय रुपैयाँ लिएपछि स्वास्थ्य अवस्था ठीक भएको कागजपत्र बनाई लाइसेन्स नवीकरण गरेको पाइएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट दैनिक २० देखि ३० वटासम्म नवीकरण र नयाँ लाइसेन्स वितरण हुने गरेको छ । यहाँको यातायात कार्यालयका बिचौलियाले सवारी साधन नवीकरण, नामसारीलगायतको नाममा सेवाग्राहीबाट मनलाग्दी रकम लिने गरेको सेवाग्राही गुनासो गर्छन् । ‘छिटो काम गरिदिन्छौं भन्ने बहानामा एक हजारदेखि दुई हजारसम्म रकम असुल्ने गरेका छन्’–एक सेवाग्राहीले भने ।

यता यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका प्रमुख पाक्रम खाँले स्वास्थ्य परीक्षणको नाममा रकम लिन नमिल्ने बताए । ‘हामीले टेन्डर आह्वान गर्दा नै निःशुल्क स्वास्थ्य परीक्षण गर्नेलाई ठेक्का दिएको हो । यहाँ स्वास्थ्य परीक्षणको नाममा पैसा लिन पाइँदैन’ उनले भने, ‘पैसा लिएको पाइए कारबाहीको लागि मन्त्रालयमा सिफारिस गरिनेछ ।’ यसअघि पनि बारम्बार गुनासो आएपछि चिकित्सकलाई सचेत गराएर छाडेको उनले बताए । ‘कर्मचारीहरूलाई पैसा नदिएसम्म काम हुँदैन भनेर पनि बिचौलियाले गलत फाइदा उठाउन खोज्ने गरेका छन्’ कार्यालय प्रमुख खाँले भने, ‘कर्मचारीहरूलाई पनि उनीहरूले प्रलोभन देखाउँछन् ।’ उनका अनुसार बिचौलिया हटाउन धेरै प्रयास गरिए पनि सफल हुन नसकेको उनले स्वीकार गरे ।

चिकित्सक साहले भने काम गरेबापत सहयोगीलाई खाजा खाने पैसा दिएको हुनसक्ने स्वीकार गरे । ‘स्वास्थ्य परीक्षणको नाममा मैले पैसा लिएको छैन’ उनले भने, ‘कुनै सेवाग्राहीको काम गरेबापत खुसीले खाजा खान दिएको हुनसक्छ ।’ यातायात व्यवस्था कार्यालयले २०७१ साल फागुन १४ गते कार्यालय स्थापना भएर २०७८ सालदेखि विराटनगरबाटै लाइसेन्स वितरणको काम सुरु गरेको थियो । लाइसेन्स वितरण गर्न थालेको झन्डै दुई वर्ष पुग्नै लागेको छ ।