विजयपुर । सहकारी दिवसको अवसरमा धरानमा अन्तरक्रिया गरिएको छ ।

मङ्गलबार जिल्ला सहकारी सङ्घ सुनसरीको आयोजनामा धरानमा ६७ औं सहकारी दिवसको बनाइएको हो । कार्यक्रममा सहकारीको समस्याबारे चर्चा गरिएको थियो । सहकारीमा देखिएका विकृति, विसङ्गति, सहकारी ऐन, कानूनको कार्यान्वयनमा उदासिनता तथा प्रभावहीनताका बारेमा छलफल गरिएको थियो ।

धरान–१५ स्थित चुम्लुङ भवनमा सम्पन्न अन्तरक्रियामा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले सहकारीले राष्ट्रिय अर्थतन्त्रमा सहयोग गरेकाले राज्यले ऐन, नियम बनाएको बताए । उनले स्थानीय सरकारले सहकारीमार्फत् साना पुँजी सङ्कलन गर्ने तयारीमा लागेको बताए । उनले भने, ‘सहकारी सञ्चालन ऐन, नियम र विनियम बनाउन टिप्पणी उठाएर नगर प्रमुख हर्कराज राईको टेबलमा पुर्याएका छौँ ।’ उनले नियमविपरीत सञ्चालित बचतकर्ताको निक्षेप रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कानूनी दायरामा ल्याई कारबाही गर्ने बताए ।

उनले सहकारीको मर्म, भावनाअनुसार जनआधारित भएर सहकारी सञ्चालन गर्न पनि आग्रह गरे । कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेश इवारमले  सहकारी नियमन गर्ने ७ वटा अधिकार स्थानीय तह भए तापनि कार्यान्वयन नगरेको बताए । उनले सहकारी ऐन २०७४ भित्र रहेर प्रदेश सहकारी ऐन २०७५ लागू भए पनि स्थानीय सरकारले स्थानीय सहकारी ऐन २०७५ नियमावली लागू नगर्दा र सहकारी ऐन कार्यान्वयन नहुँदा निक्षेपकर्ता समस्यामा परेको बताए । उनले भने, ‘स्थानीय सहकारी ऐन ‘लाटाको धोती’ भइरहेको छ ।’ उनले धरानमा विषयगत जनशक्ति परिचालन नगरेका कारण धरानका सहकारीमा समस्या आएको बताए ।

कार्यक्रमा सहकारी ‘सुशासन, प्रविधि र एकीकरणको महŒवका विषयमा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका अधिकृत मनोज कार्कीले कार्यपत्र प्रस्तुत गरे । उनले सहकारी क्षेत्रमा सङ्ख्यात्मक विकास मात्र भएको तर, गुणस्तर बढ्न नसक्दा सहकारीको लोकप्रियता घटिरहेको बताए । उनले सहकारीका स्वार्थ समूहले निक्षेप रकम अपचलन गर्दा सहकारी क्षेत्र बदनाम भइरहेका कार्यपत्रमा उल्लेख गरेका छन् ।  दिवसका अवसरमा धरान–१५ स्थित सदन रोडदेखि छाता चोक, भानुचौक हुँदै धरान–१५ स्थित चुम्लुङ भवनसम्म र्याली पनि गरिएको थियो । धरान–१५ का वडाध्यक्ष नरेश इवारमलाई सहकारीमा लामो समयदेखि योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

यस्तै इटहरीको जुनतारा बचत तथा ऋण सहकारी संस्थालाई पनि सम्मान गरिएको थियो । जिल्ला सहकारी सङ्घमा ५ सय ४२ सहकारी आबद्ध छन् । तर, सहकारी दिवसमा ८८ वटा  सहकारी मात्र सहभागी बनेको सङ्घका अध्यक्ष गङ्गाप्रसाद दाहालले बताए । सङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रमको व्यवस्थापन धरान नगर सहकारी सङ्घले गरेको थियो ।