विराटनगर । मेडिकल उपकरण खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मेडिकल व्यवसायी विशाल पण्डित, बायो मेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, मनोजकुमार आचार्यलगायतका ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीको समयमा तत्कालीन कोशी कोभिड–१९ अस्पताल केन्द्रमा हाई डिपेन्डेन्सी युनिट (एचडीयु) जडान तथा सञ्चालन गर्न सामग्री खरिदको लागि स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरू विरुद्ध २ करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बिगो माग दाबी गरेको छ । अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम रकम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने कम्पनीलाई खरिदको जिम्मा दिइएको थियो ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्वास्थ्य व्यवसायी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा कार्यरत बायो मेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रा.लि. र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ ।