भद्रपुर । नेपालको पूर्वीनाका काँकडभिट्टा भएर भारतसँग हुने व्यापार घाटा ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि फागुन मसान्तसम्म नेपालले ११ अर्ब ५२ करोड ५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरिसकेको हो । यो अवधिमा नेपालले १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको मालवस्तु निर्यात गर्दा २८ अर्ब २० करोड ६३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । निर्यातको तुलनामा आयात हेर्दा ४० दशमलव ८४ प्रतिशत व्यापार घाटा नेपालले सहनुपरेको उनको भनाइ छ । अघिल्लो आ.व. २०७९/०८० को सोही अवधिमा नेपालले ५३ दशमलव ५६ प्रतिशत व्यापार घाटा व्योहोरेको उनले बताए ।

सो अवधिमा ३१ अर्ब २६ करोड ५१ लाख १३ हजार रुपैयाँ बराबरका सामान नेपालले आयात गरेकोमा १४ अर्ब ५१ करोड ८५ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरका मात्र मालवस्तु भारत पठाउन सकेको थियो । जहाँ १६ अर्ब ७४ करोड ६५ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको घाटा हो । गत आ.व.को आठ महिनाको तुलनामा चालु आ.व.को आठ महिनामा ९ दशमलव ७८ प्रतिशत वा ३ अर्ब ५८ करोड ७३ लाख ८ हजार रुपैयाँ व्यापार घाटा भएको अभिलेख छ । निर्यात भने १४ दशमलव ९३ प्रतिशले वृद्धि भएर १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुगेको उनको भनाइ छ ।

केही वर्षअघिसम्म ३ सय १७ प्रकारका कृषिवस्तु मात्र भारत निर्यात हुने गरेकोमा हिजोआज २ सयभन्दा कम मात्रै मालवस्तु निर्यात हुने गरेको छ । व्यापार घाटा कम गर्न सरकारले निर्यात बढाउने नीति र योजना बनाएर काम गर्न सक्नुपर्ने उनको सुझाव छ । निर्यात बढाउने योजनाबद्ध कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेको र सरकार अब तत्कालै गम्भीर भएर नलाग्ने हो भने अन्य मुलुकसँगको पनि व्यापार घाटा बढ्ने उनको बुझाइ छ ।

भारतसँगको निर्यात व्यापारमा अहिलेको मुख्य समस्यामध्ये गैरभन्सार अवरोध पनि भएको व्यवासायीहरूको बुझाइ छ । निर्यात सम्भावना बोकेका विभिन्न वस्तुलाई भारत निकासीमा बेला–बेलामा हुने अवरोधले समस्या पर्दै आएको उनीहरूको भनाइ छ । अदुवा, चिया, वनस्पति घिउजस्ता निर्यातका सम्भावना बोकेका उत्पादन भारत निकासी गर्न सहज नभएको नाकामा देखिएको अवरोधले प्रष्ट हुने एकजना व्यवसायीको भनाइ छ ।

काँकडभिट्टानाका हुँदै अत्यधिकमात्रामा पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, हवाई इन्धन मट्टितेल) तयारी पोसाक, सुपारी, सिमेन्ट क्लिङ्कर, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटिङ आयल मोबिल, मोटरका ब्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरूलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरू, अदुवा, सुठो, सुँगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपरलगायतका वस्तुहरू नेपालबाट भारत तथा समुद्रपार निकासी हुने गरेका छन् ।