विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम साङ्ग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रङ्गशालामा शनिबार सम्पन्न भएको पहिलो क्वार्टरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै साङ्ग्रीलाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । जितसँगै साङ्ग्रीलाले भोलि (सोमबार) हुने विभागीय टिम सशस्त्र प्रहरी बल र चर्च ब्वाइज युनाइटेडबीचको विजेता टिमसँग खेल्नेछ ।

जितको लागि साङ्ग्रीलाको तर्फबाट आशिष चापागाईं, सुशील राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीको तर्फबाट सोरब दोर्जेले दुई गोल फर्काए पनि त्यो पर्याप्त भएन ।  

खेल सुरु भएको २६ औं मिनेटमा विवेक पौडेलले प्रहार गरेको कर्नर बललाई आशिष चापागाईंले हेडमार्फत् गोल गरी टिमलाई अग्रता दिलाए । पहिलो गोल खाएपछि आरटिएफसी दबावमा पर्यो । साङ्ग्रीलाले अग्रता लिएको  सात मिनेट बित्न नपाउँदै सुशील राईले हेडमार्फत् गोल गर्दै अग्रता दोब्बर पारे । मौसम लिम्बूले मध्यभागबाट निकालिदिएको पास सुशीलले सदुपयोग गर्दै गोल गरे । घरेलु दर्शकको साथ पाएको साङ्ग्रीलाले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । दोस्रो हाफको ५० औं मिनेटमा विदेशी खेलाडी स्याङले गोल गरे । आरटिएफसीका गोलकिपर डेन्डुप अगाडि बढेपछि विदेशी खेलाडी स्याङले बायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।

आरटिएफसीको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । लगातार पाएको सुन्दर अवसर आरटिएफसीका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिँदा क्वार्टर फाइनलबाट घर फर्किन बाध्य भयो ।  ६५ औं र ७४ औँ मिनेटमा आरटिएफसीका सोरब दोर्जेले दुई गोल फर्काए । केल्जाङ जिग्मेकोे प्रहार साङ्ग्रीलाको गोलकिपर विशाल सुनारले पन्च गरेको बल रिबाउन्ड भएर फर्किएपछि सोरब दोर्जेले गोल गरेका थिए । ७४ औँ मिनेटमा आरटिएफसीका जिङ्ग्माले निकालिदिएको पास सदुपयोग गर्दै सोरबले गोल गरी ३–२ गोलको स्थितिमा ल्याएर टिमको हौसला बढाए  ।

१३ औं मिनेटमा आरटिएफसीका  जिङ्ग्माले निकालिदिएको क्रस पासमा केन्जुङको कडा प्रहार बाहिरियो । त्यसलगत्तै केल्जाङ जिग्मेले डिबक्स भित्रबाट गरेको प्रहार साङ्ग्रीलाका गोलकिपर विशाल सुनारले बचाउ गरे । २४ औं मिनेटमा डिबक्स नजिकबाट किन्ले गेतसनको कडा प्रहार बाहिरियो ।

साङ्ग्रीलाका गोलकिपर विशाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले आधा दर्जन बढी आरटिएफसीको पोष्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई अन्तिम चारको यात्रा गराए । साङ्ग्रीलाको सुनिल खड्काले ६० औं मिनेटमा वान भर्सेस वानको प्रहारमा गोल गर्नबाट चुके । उनले डिबक्स भित्रबाट गरेको प्रहार डेन्डुपले विफल पारिदिए । सुमन लिम्बूले निकालेको क्रस पासमा डिबक्स भित्रबाट विदेशी खेलाडी स्याङले गोल गर्नबाट चुके । ७८ औं मिनेटमा केन्जुङले डिबक्स भित्रबाट गरेको कडा प्रहारमा गोल गर्न चुक्दा खेललाई बराबरीमा ल्याउन सकेनन् । खेलको प्लेयर अफ द म्याच साङ्ग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।