पाँचथर/ पाँचौं कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले जितेको छ।
बिहीबार सम्पन्न फाइनलमा फालेलुङ गाउँपालिकालाई १–० गोलले हराउँदै कुम्मायकले उपाधि जितेको हो। दोस्रो हाफको १८ औं मिनेटमा कुम्मायकका दिल सम्बाहाम्फेले निर्णायक गोल गरेका थिए।

विजेता बनेको कुम्मायकले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी पाएको छ। उपविजेता बनेको फालेलुङले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी पाएको छ। फाइनल खेलको म्यान अफ द म्याच कुम्मायकका दिल सम्बाहाम्फे घोषित भए।

त्यस्तै सर्वोत्कृष्ट खेलाडी फालेलुङका मदन जबेगू घोषित हुँदै नगद १५ हजारसहित ट्रफी पाए। प्रतियोगितामा उत्कृष्ट गोलरक्षक कुम्मायकका कृष्ण क्षेत्री, सर्वाधिक गोलकर्तामा कुम्मायकका दिल सम्बाहाम्फे, बेस्ट फरवार्डमा लोकेन्द्र थापा, मिडफिल्डर हेमन्त दर्नाल, डिफेन्डर दिप्सन लावती, उदयीमान खेलाडीमा अन्जान मिफोक घोषित हुँदै ट्रफी पाए।

चैत ११ गतेदेखि सुरु भएको प्रतियोगितामा पाँचथरका सात स्थानीय तहका टिम सहभागी भएको आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष खेमराज निरौलाले बताए ।