कुनै समय धरान पहाडी व्यापारको उद्गमस्थल बनेको थियो । पहाडी क्षेत्रहरू धनकुटा, भोजपुर, सङ्खुवासभा आदि ठाउँमा खाद्यसामग्रीहरू होस् या लत्ताकपडा सबै धरानबाट नै जाने गर्दथ्यो । भोजपुर लैजाँदा चतरासम्म गाडीमा र त्यहाँबाट भरियाले बोकेर सामान लग्ने गर्दथे । त्यसैगरी धरानमा सुन किन्न भारतका दार्जिलिङ, सिक्किमका नेपालीहरूसमेत आउने गर्दथे । नेपालमा कुनै पनि नयाँ डिजाइनका लुगा आयो भने पहिले धरान, अनि पोखरा त्यसपछि मात्र काठमाडौंँमा पाइन्थ्यो । त्यसैले धरानलाई फेसनको सहर पनि भनिन्थ्यो । धरानमा सुन बाटोमा नै फिँजाएर बेचिन्छ भनेर हामीले सुनेका पनि थियौँ । विशेषगरी पहाडबाट धरानमा विद्यार्थीहरू पनि पढ्न आउने गर्दथे, जसले गर्दा धरानको व्यापार चलायमान हुन्थ्यो ।

केही वर्ष अगाडिसम्म यहाँ युके र हङ्कङबाट आएका लाहुरे समुदायका धरानेहरूले यहाँको अझ शोभा नै बढाएका थिए । जसले गर्दा धरानमा धेरै रेमिट्यान्स भित्रिन्थ्यो र धरानको व्यापार सधैँ गुलजार रहन्थ्यो । हाल विश्वमै अर्थतन्त्र ओरालो लागेको अवस्थामा धरान पनि अछुतो रहने कुरै भएन । धरानको व्यवसाय पनि निक्कैनै खस्केको अवस्थामा छ । पहाडी क्षेत्रमा यातायातको सुविधा भएपश्चात् उक्त क्षेत्रमा सामानहरू इटहरी, विराटनगर र राजधानीबाटै जाने गरेको छ । त्यसैगरी पहाडीभेगको लागि व्यापारको हब इटहरी बनेको छ भन्ने कुरामा कसैले नकार्न सक्दैन । धरानको मुटु भानुचौकदेखि छाताचौकसम्म निक्कै व्यस्त बजार मानिन्छ । तर, हाल आएर यो नयाँ बजार सुनसान छ । कुनै समय यो क्षेत्रमा नयाँ व्यापार गर्नका लागि सटर पाइँदैनथ्यो, घरवालालाई कोठाको लागि अग्रिम धरौटी बुझाउनु पथ्र्यो तर हाल, छाताचौकदेखि भानुचौक सम्म ५९ वटा सटर कोठाहरू खाली छन् र केही पसलहरू बन्द हुने क्रममा छन् ।

नारामा सीमित पर्यटन
धरानको समृद्धिको आधार पर्यटन नै हो भन्ने कुरामा दुईमत छैन । धरानका ऐतिहासिक धार्मिकस्थल दन्तकाली, पिण्डेश्वर र बूढासुब्बा नै विशेषगरी यहाँका धार्मिक पर्यटकीय स्थल हुन् । त्यस्तै धरानका विभिन्न पार्कहरू, धरानमा रहेको शनि मन्दिर, इस्कोन मन्दिर, गुम्बाहरू र यहाँको विभिन्न जातजातिका संस्कृतिहरू पनि पर्यटकहरूको आकर्षणको केन्द्र हो । धरानलाई साहसिक पर्यटनले अझ उचाइ थपेको छ । तर, धरान र धरान आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा स्थानीय सरकारको चासो देखिएको छैन । केही समय यता त धरानमा विभिन्न काण्ड र अनेक किसिमका चर्चा परिचर्चासँगै धार्मिक पर्यटकहरूको सङ्ख्या झन् घटेको छ । धरान आएका पर्यटकहरूलाई एक रात धरान बसाउने आधार पनि तयार पार्न सकिएको छैन ।

स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्नमा थप कोशिस गर्नुपर्नेमा हरेक वर्ष बजेट घटाउँदै आएको छ । केही समयदेखि धरानमा श्रम पर्यटनको पनि चर्चा छ । श्रम पर्यटनमा आउने पर्यटकले धरानको समृद्धिमा के भूमिका खेलिरहेका छन् ? धरानको पर्यटनमा उनीहरूको योगदान के छ ? भन्ने विषयमा गम्भीर मन्थन गर्न सकेको अवस्था छैन । धरानका मन्दिर र पर्यटकीय स्थलहरूको ब्रान्डिङ गर्न स्थानीय सरकार लागेको देखिँदैन । नजिकै रहेको भारतको बिहारका नागरिक धरानको पर्यटनका लागि राम्रा ग्राहकहरू हुन सक्दछन् । तथ्याङ्क अनुसार १२ करोड ८५ लाख ३ सय ६४ जनसङ्ख्या रहेको बिहारबाट बर्सेनि एक प्रतिशत मात्र पर्यटक धरान ल्याउन सके धरानको समृद्धि स्वतः हुन्थ्यो । भारतबाट आउने पर्यटकलाई धरानसम्म ल्याउनका लागि धरानका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । धरानका होटल व्यवसायीहरू पनि पर्यटनमैत्री हुन जरुरी देखिएको छ । भारतीय पर्यटकलाई उनीहरूकै चाहनाअनुसार खाना र व्यवहार मात्र गर्न सके ‘अतिथि देवो भवः’ को सिद्धान्त सार्थक हुने थियो ।

घट्दो विद्यार्थी, कछुवाको चालमा कलेज
शिक्षाको हब मानिने धरान, हाल आएर धर्मराउँदो अवस्थामा छन् । संस्कृत, विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन र चिकित्सा विज्ञानसमेत सबै एकै ठाउँमा पढ्न पाइने यहाँ बाहिरबाट धेरै विद्यार्थीहरू अध्ययनका लागि आउने गर्दथे । सामुदायिक विद्यालय ५५ र संस्थागत विद्यालय ९७ रहेको धरानमा भारतीय बोर्ड सिबिएसईको दिल्ली पब्लिक स्कुलदेखि लिएर नेपालमै एक मात्र एमटेक पढाइ हुने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारसमेत छ । धरानको महेन्द्र बहुमुखी क्याम्पसमा धेरै विद्यार्थीहरू धरान बाहिरबाटै आउने गर्दथे । धरानका धेरै नेताहरूको राजनीतिमा श्रीगणेश महेन्द्र क्याम्पसमै विद्यार्थीकालको राजनीति हो भन्दा गलत साबित हुँदैन । यहाँका पुराना उच्च मा.वि.हरू केही दशकअगि खुलेका प्राइभेट कलेजहरूमा विद्यार्थीहरू खचाखच हुन्थे । तर, हाल आएर बाहिरका विद्यार्थीहरू धरानभन्दा इटहरी, काठमाडौँमा जान रुचाउनु र अध्ययनका लागि विदेश जाने क्रमले पनि विद्यार्थीहरूको सङ्ख्या हरेक वर्ष घट्दो छ । केही कलेजहरूमा मानविकी र शिक्षा सङ्काय बन्दसमेत भइसकेका छन् ।

आफै बिरामी बी.पी. अस्पताल
स्वास्थ्य पर्यटन पनि धरानको उन्नयनको एउटा आधार हो । दक्षिण एसियाकै ठूलो अस्पतालको रूपमा रहेको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वी पहाड र भारतको बिहारबाट धेरै बिरामीहरू उपचारका लागि आउने गर्दथे । प्रतिष्ठानमा विशेषज्ञ डाक्टरहरूको उपचार र बिरामीमैत्री सेवाले प्रतिष्ठान धरानकै गौरवको रूपमा स्थापित भएको थियो । हाल आएर प्रतिष्ठानभित्रको राजनीति, विशेषज्ञ डाक्टरहरूको कमी अनि विराटनगरमा धेरै अस्पतालहरू सञ्चालनमा आएपछि प्रतिष्ठानमा बिरामीहरूको सङ्ख्या तुलनात्मक रूपमा घटेको छ । प्रतिष्ठानभित्र स्वास्थ्य जाँच गराए पनि परीक्षण गराउन धेरै चिकित्सकहरूले बाहिरका ल्यावमा रेफर गर्ने गरेका छन् । हुन त, बीपीमा बिरामीले एउटा भिडियो एक्स–रे गर्नुप¥यो भने तीन हप्तापछाडि मात्र पालो आउँछ भने सिटी स्क्यान गर्नुप¥यो भने महिनौं कुर्नुपर्ने बाध्यता छ । प्रतिष्ठानले सर्वसुलभ रूपमा औषधि उपलब्ध नगराउनु पनि अर्को विडम्बना रहेको छ; जसले गर्दा बाहिर रहेका केही छाडेर धेरैजसो फार्मेसीहरूको कालोबजारी मौलाएर गएको छ । आफै बिरामी भएको बी.पी.को यो हालतले नै होला, हाल पूर्वी पहाडीभेगका धेरैजसो बिरामीहरू धरानलाई छिचोल्दै विराटनगर पुग्ने गरेको तीतो सत्यलाई नकार्न सकिँदैन ।

कपडाको व्यापार नगण्य
धरान मूल बजारमा सबैभन्दा बढी रेडिमेड तथा अन्य कपडाका पसलहरू रहेका छन् । धरानका फेन्सीसप व्यवसायीहरूले सोझै थाइल्यान्डबाट कपडाहरू ल्याउने गर्दथे र धरान बाहिरबाट धेरै व्यवसायीहरू र ग्राहकहरू नयाँ डिजाइनका कपडाहरू किन्न यहाँ आउँथे । धरानमा कोलकाता र बम्बईका साडी, कुर्ताहरू किन्ने ग्राहकहरू अहिले आउन छाडेका छन् । तर, हाल मुख्य बजारमा पार्किङको असुविधा र अनलाइन व्यापारले गर्दा कपडा पसलहरू बन्द हुने अवस्थामा पुगेका छन् र केही बन्दसमेत भइसकेका छन् । ग्राहकहरूको हातहातमा मोबाइल हुनु र अनलाइन व्यापारमा ग्राहकहरू आकर्षित हुने कारणले पनि धरानको कपडा व्यवसाय शिथिल बन्दै गएको छ ।

हार्डवेयर व्यवसायमा शिथिलता
धरानका हार्डवेयर पसलहरूमा विशेषगरी बिहान ७ देखि ११ बजेसम्म बोल्न पनि फुर्सद नहुने गरी भीड हुने गर्दथ्यो । जग्गाको कारोबार भइरहने, आर्थिक कारोबार पनि सबैको राम्रो हुने कारणले पनि हार्डवेयर व्यवसाय राम्रो रहेको थियो तर, हाल आर्थिक अभाव र धेरै ग्राहकहरूको घर बनाउन राखेको पैसा नाम चलेका सहकारीमा फसेका कारणबाट पनि हार्डवेयर, इँटा र रङको व्यवसाय शिथिल हुन पुगेको छ ।

सुनसान धरानका होटल
दुई दशकअगाडि धरानको जिरो पोइन्ट एरियाका होटलहरू भरिभराउ हुन्थे, त्यहाँका होटलहरूमा धरानको कालो बङ्गुरको मासु र सेकुवा खान सुनसरी, झापा, मोरङ र काठमाडौँसम्मका पर्यटकहरूसमेत आउने गर्दथे । पूर्वाञ्चलमै पहिलो पटक ओ टु डिस्को थेक पनि जिरोपोइन्टको चौकमा सुरु भएको थियो । पछिल्लो चरणमा बगरकोटमा होटलहरू वृद्धि हुन थाल्यो र बगरकोटले धरानको ठमेलको उपाधिसमेत प्राप्त गरेको थियो । राति २ बजे पनि चलायमान बगरकोट हाल सुनसान छ । धरानमा होटलको व्यापार पहिलेको भन्दा ७० प्रतिशत बजार गिर्दाे अवस्थामा छ । नाम चलेका होटलहरू गजुर, कञ्चनजङ्घा, नवयुग, धरान किचन, आँगन, रत्न इन, सेछ, ड्रिमल्यान्ड, सन्ध्या इनजस्ता होटलहरू हाल आएर केही बन्द भइसके भने केही कछुवाको चालमा छन् ।

माथि उल्लेख गरिएको कपडा पसल, हार्डवेयर, होटल, अस्पताल र स्कुल कलेज त उदाहरण मात्रै हुन् । धरानका सबै प्रकृतिका व्यवसायहरू सुस्त गतिमा छन् । धेरै व्यवसाय त पर्यटनसँगै जोडिएका छन् । यातायात, होटल, व्यापार प्रवद्र्धनको आधार मुख्यतः पर्यटन नै हो । तर, शिथिल हुँदै गएको धरानको व्यवसाय प्रवद्र्धन गर्न स्थानीय सरकार कहिल्यै पनि उद्यत रहेको पाइएको छैन । साहसिक पर्यटनको रूपमा स्थापित सेछ एड्भेन्चरमा स्काई साइक्लिङ, जिप लाइन रहेको छ, तर त्यहाँ जाने बाटोको स्तरोन्नति नहुँदा करोडौंको लगानी धरासायी हुने अवस्थामा छ । त्यसैगरी प्याराग्लाइडिङको टेक अफ गर्ने रन–वे बन्द गराइनुले प्याराग्लाइडिङ पनि बन्द हुने अवस्थामा छ । स्थानीय सरकारले प्रवद्र्धन गर्नुपर्ने साहसिक पर्यटन अझ उपेक्षामा परेको छ । धरान उपमहानगरपालिकामा रहेको उद्योग प्रवद्र्धन समिति, पर्यटन समितिले हालसम्म पूर्णता पाएको छैन । धरान उपमहानगरपालिकाले राजस्व उठाउन दोकान–दोकानमा कर्मचारी खटाएको पाइन्छ तर, त्यो व्यापार प्रवद्र्धन गर्न के कस्ता कार्यहरू गर्न सकिन्छ भनेर हालसम्म कुनै ठोस नीति र कदम चालेको पाइँदैन ।

धरानको उन्नयनमा धरानेहरू चिन्तित नहुने हो भने धरान टापु बन्न सक्ने पत्रकार गोपाल दाहाल बताउँछन् । स्थानीय नेताहरूहरूको स्वार्थका कारण मदन भण्डारी राजमार्ग धरानको दक्षिण भएर जानु, तमोर करिडोर धरानको उत्तरतिरबाट जानु धरानको दुर्भाग्य रहेको दाहाल बताउँछन् । उत्तरतिरबाट आउने यात्रु सिधै चतराबाट काठमाडौँ या इटहरी भएर जाने र पूर्व, दक्षिणी भेगका यात्रु धरान तलतिर मदन भण्डारी राजमार्ग हुँदै गएपछि धरानमा पर्यटक आउने सम्भावना न्यून भएको गएको दाहाल बताउँछन् । ‘अब धरान बसोबास गर्ने ठाउँ मात्र हुने त हैन ?’–दाहाल प्रतिप्रश्न गर्छन् । अर्थविद् डा. राजेन्द्र शर्मा पर्यटकको लागि धरान गन्तव्यस्थल बनाउने अभियान चलाउनु पर्ने बताउँछन् । धार्मिक पर्यटन सँगसँगै साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा धरानको चिण्डेडाँडाबाट हाइटेन्सन लाइन लगेपछि प्याराग्लाइडिङ बन्द भएकोमा दुःख व्यक्त गर्छन् डा. शर्मा । धरानमा पर्यटकको दीर्घकालीन योजनाको अभाव रहेको र अहिलको अवस्थामा स्थानीय सरकार आशलाग्दो नभएकोले राजनीतिक पार्र्टीहरूले धरानको २० वर्ष योजना दिनुपर्ने धारणा राख्दछन्, डा. शर्मा । ‘स्थानीय सरकारले सोचेन भने राजनीतिक पार्टीहरूले सोचे त ?’ –प्रतिप्रश्न गर्छन् डा. शर्मा । हुल्लडबाजहरूले सामाजिक सञ्जालमा लेखेका पढ्नै नसकिने स्टाटस र कमेन्टले गर्दा २४–२५ सालअघि धरान झगडिया, हुल्लडबाजको सहर भनी कमाएको बदनाम अझै पनि मेट्न नसकेको र धरानलाई सभ्य मानिसहरूको सहर भन्न सक्ने आधार नभएको डा. शर्मा बताउँछन् । बेलायत र हङ्कङमा बसोबास गर्नेहरू विदेशमै रोकिएपछि धरानमा आउने पैसामा कमी हुनु, उत्पादनमुखी र रोजगारमुखी अभियान चलाउन नसक्नु, बी.पी.प्रतिष्ठानको सुधार हुन नसक्नुजस्ता कारणले पनि धरानको आर्थिक गतिविधि न्यून भएको डा. शर्माले बताए । 

त्यसैगरी सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ उपभोक्तामा खरिद गर्ने क्षमता नभएको कारण बजार चलायमान नभएको बताउँछन् । ‘बजारमा पैसा छैन, सरकारले विकास बजेटलाई फ्लो नगरेसम्म बजार कसरी चलायमान हुन्छ त ?’ श्रेष्ठ भन्छन्, ‘उद्योगको उत्पादन घटेर २० प्रतिशत मात्र छ, त्यो उत्पादनले मजदुर खर्च धान्न पनि मुस्किल हुन्छ, अनि सामग्रीको भाउ पनि बढ्छ ।’ श्रेष्ठका अनुसार हालसम्म सरकारले २० प्रतिशत मात्र विकास बजेट फ्लो भएको र बजार चलायमान बनाउन सरकारले विकास बजेट अझ फ्लो गर्र्नुपर्ने बताउँछन् । श्रेष्ठले बैङ्कहरू शोषक भएकाले नयाँ उद्यमीहरू व्यवसाय गर्ने सोचमा नरहेको बताउँछन् । ‘बैङ्कले ९ प्रतिशतमा ऋण दिन्छ, कतिबेला १५ प्र्रतिशत बनाइसकेको हुन्छ, व्यवसायीलाई पत्तै हुँदैन, कसरी बैङ्कसँग विश्वास गर्ने ?’–श्रेष्ठ प्रतिप्रश्न गर्छन् । उद्योगी व्यवसायीहरू बैङ्कसँग विश्वसनीय हुनलाई राष्ट्र बैङ्कले नियमन गर्नुपर्ने श्रेष्ठको कथन छ ।

धरानको समृद्धिका लागि स्थानीय सरकार, राजनीतिक दलहरू र उद्योगी व्यवसायीहरूको छाता सङ्गठनको संयुक्त पहलबाट दीर्घकालीन योजना ल्याउनै पर्ने भएको छ । धरानका उद्योगी व्यवसायीहरूको व्यवसाय प्रवद्र्धनका निम्ति ठोस नीति र कार्यक्रम ल्याइनु र ग्राहकमैत्री पनि हुन जरुरी देखिएको छ । व्यवसाय सञ्चालन गर्दा ग्राहकको तर्फबाट कहिल्यै सोचेको पनि पाइँदैन । बजारमा आउने ग्राहक सवारी साधन पार्किङको कारणबाट बजार आउन रुचाउन छाडेको पनि पाइएको छ । उद्योग व्यवसायीहरू बैङ्कप्रति विश्वस्त रहन बैङ्कलाई उद्योग वाणिज्य सङ्घले खबरदारी गर्नुपर्ने पनि देखिएको छ । भारतको बिहार र बङ्गालमा मात्र धरान र आसपासको पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गरी पर्यटक भिœयाउनसके यहाँको धेरै व्यवसायहरू फस्टाउने सम्भावना रहेको छ ।

त्यसैगरी धरानका होटल व्यवसायी, टेम्पो, बसका चालक, सह–चालकहरूका आतिथ्यतासम्बन्धी तालिम दिन जरुरी रहेको देखिएको छ । यिनीहरूको स्वभाव र बोलीमा शिष्टता झल्किए नेपालमै धरान शिष्ट र सभ्य व्यक्तिहरूको सहर भन्ने चर्चा हुन सक्दछ । चतरामा केही दिनपछि हुने कुम्भ मेलामा २० लाखभन्दा बढी पर्यटक आउने सम्भावना रहेको छ । कुम्भमा भारतका प्रख्यात सन्त महन्तका साथसाथै बागेश्वर धाम सरकार पं. धीरेन्द्र शास्त्रीको पनि आगमन हुने सूचना पाइएको छ । अल्पकालीन योजनाको रूपमा यही चैत २७ देखि हुने कुम्भ मेलामा चतराको कोशी नदीमा नुहाएपश्चात् अमृतबाट स्थापित पिण्डेश्वर बाबाको दर्शन गरेपछि मात्र कुम्भ नुहाएको पूर्ण हुने कुरालाई प्रचार–प्रसार गर्नु पर्दछ । यसरी कुम्भबाट १ महिनामा ५० प्रतिशत अर्थात् १० लाख पर्यटकलाई धरानमा भिœयाउनसके धरानको पर्यटन प्रवद्र्धनमा केही टेवा पुग्ला कि !

(लेखक परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष एवम् सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य हुनुहुन्छ ।)