भारत र पाकिस्तानबीच २५ वर्षअघि भएको कार्गिलमा भएको सीमायुद्धमा ज्यान गुमाउने सिपाही सुरेश थापा क्षेत्रीको स्मृतिमा बाहुनडाँगी जेसीजले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

नेपाल र भारतका आठ वटा क्लवले प्रतिष्पर्धा गर्ने ‘कार्गिल सहिद सुरेश क्षेत्री स्मृति दोस्रो जेसिज नकआउट फुटबल प्रतियोगिता’ यही चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताए। प्रतियोगितामा भारतको किरालाम जोत एकलब्य क्लवले समेत सहभागिता जनाउँदैछ।

भारतको जम्मु कश्मिर सीमा क्षेत्रमा युद्धको क्रममा सन् १९९९ जुलाई ७ तारिखमा ज्यान गुमाउँदा भारतीय सेनाको नागाल्यान्ड रेजिमेन्टमा कार्यरत सुरेश क्षेत्री २६ वर्षका मात्र थिए । मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीले सुरेश आफ्नो बाल्यकालको साथी भएको बताए। 

“हामीसँगै स्कुल जान्थ्यौं, सँगै फुटबल पनि खेल्थ्यौं”, वडाध्यक्ष कार्कीले क्षेत्रीसँग बाल्यकालमा बिताएका क्षणहरु सम्झँदै भने, “पछि ऊ भारतीय सेनामा भर्ती भयो। कार्गिल युद्धमा जीवन गुमायो। अहिले जेसिजले स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्दा पुराना दिनहरु ताजा भएका छन् ।”

सन् १९९३ मा भारतीय सेनामा भर्ती भएका सुरेशको विवाह सन् १९९६ मा मञ्जु थापासँग भएको थियो। कार्गिलमा मृत्यु भएको चार महिनापछि उनीहरुको एक छोरा सुमन सुरेश कार्गिल क्षेत्रीको जन्म भएको थियो । सुरेशकी पत्नी मञ्जु र छोरा सुमन हाल सीमावर्ती दार्जीलिङको नक्सलबारीमा बसोबास गर्दै आएका छन्।

फुटबल प्रतियोगिता सञ्चालनका लागि कार्गिल योद्धा सुरेशका दाजु रामु थापा क्षेत्रीले बाहुनडाँगी जेसिजलाई तीन लाख १० हजार आर्थिक सहयोग दिएको अध्यक्ष बानियाँले जानकारी दिए। प्रतियोगिताका बिजेता टिमलाई रु एक लाख एक हजार र उपविजेता टिमलाई ५१ हजार नगद पुरस्कार दिइने भएको उनले बताए।

“मूलतः खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो”, प्रतियोगिाताको आयोजक जेसिजका अध्यक्ष बानियाँले भने “बाहुनडाँगी फुटबल खेलका लागि उर्वर भूमि हो। नयाँ खेलाडी उत्पादन गरेर फुबटल खेलको माध्यमबाट यस ठाउँको चिनारी गराउन लागिरहेका छौँ ।”

हात्ती प्रभावित क्षेत्रका रुपमा वर्षौदेखि चिनिएको बाहुनडाँगीमा फुटबलका राम्रा खेलाडी छन्। बाहनुडाँगीका आदित्य कार्की हाल मालद्वीपको राष्ट्रिय ए डिभिजन टिमको कोच छन् भने सेवन्त थापा मगर यु–१९ को अन्तर्राष्ट्रिय खेलाडी र विशाल राई झापा फुटबल क्लवका उत्कृष्ट खेलाडी हुन्।