बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको साङ्ग्रिला मोरङ फुटबल क्लब दर्शकको भरपुर समर्थनका वावजुद पराजित बनेको छ । दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधिमाथि कब्जा गर्नबाट न्युरोड टिम (एनआरटी) लाई मोरङले रोक्न सकेन ।

१० औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको एनआरटीले मोरङविरुद्ध २-१ गोलको जित दर्ता गर्दै २४ औं संस्करणको विजेता बनेको छ । विजयी एनआरटीले १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटीले दोस्रोपटक उपाधि जितेको हो । यो  सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङविरुद्ध उपयोग गर्दै जित हासिल गर्‍यो ।

शनिबार धरान रङ्गशालामा भएको फाइनल खेलमा जित दोहोऱ्याएको एनआरटीका लागि खेलको पहिलो हाफको सातौं मिनेटमा रोशन रानाको पासमा अफिज ओलावाले गोल गरे ।

दोस्रो हाफको छैठौं  मिनेटमा एनआरटीको अग्रता दोब्बर बनाउनका लागि सरोज तामाङले योगदान गरे  । निर्णायक बनेको गोलका लागि डिबक्सबाहिरबाट प्रहार तमाङको गोल सुरक्षित गर्न अफिज ओलावाले डिफेन्सलाइन र किपरलाई भ्रमित गरेका थिए ।

प्यारापिटबाट भरपुर हुटिङ पाएको मोरङले दर्शकको साथ र अपेक्षालाई आशामा परिवर्तन गर्न सकेन । खेलको पहिलो हाफको ४४ औं मिनेटमा मोरङका तर्फबाट आदित्य शाक्यको पास डिबक्समा पाएका उमेश कार्कीले गोल गरे । उनको गोल सान्त्वना बन्यो ।

टिमले नगद ५ लाख रुपैयाँसहित ट्रफी मेडल प्राप्त गर्‍यो । चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको मोरङ एनआरटीको जितमा स्तब्ध बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच  घोषित हुँदै एनआरटीका पदम भट्टराईले १० हजार रुपैयाँ प्राप्त गरे ।

बेस्ट गोलकिपर एनआरटीका पुजन होना, बेस्ट डिफेन्डर मोरङका महेन्द्र कार्की, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी र बेस्टकोच जीवन सिखेमना घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

हाइस्कोरर एनआरटीका अफिज ओलावाले, सरोज तामाङ र मोरङका उमेश कार्की घोषित भए । उनीहरुले कुल राशि ३५ हजार रुपैयाँमा आयोजकले १ हजार रुपैयाँ थप गरेपछि दामासाहीले वितरण गरे ।

बेस्ट प्लेयर घोषित एनआरटीका सनम लिम्बूले १ लाख रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट समाचार सङ्कलन गरेवापत् पत्रकार वसन्त वान्तवालाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

विजेतालाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले ट्रफी मेडल प्रदान गरे । यस्तै उपस्थित पदाधिकारी, जनप्रतिनिधि, प्रायोजक र स्थानीय समाजसेवीले समेत पुरस्कार वितरण गरे ।