विजयपुर / पानबारी भलिबल कपमा धरानस्थित बाँझोगरा भलिबल क्लब च्याम्पियन बनेको छ।

शुक्रबार धरान–६ स्थित पानबारीमा भएको फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै बाँझोगरा च्याम्पियन बनेको हो। पहिलो सेट २१–२५ ले गुमाएको बाँझोगराले त्यसपछि २५–११, २५–१६ र २६–२४ को सेटमा विजयी हुँदै उपाधि जितेको हो। उपाधिसँगै बाँझोगराले ३५ तोला चाँदीको रनिङ ट्रफी र नगद १ लाख पुरस्कार जितेको छ।

दोस्रो भएको सयपत्रीले ५० हजार नगद पुरस्कार जितेको छ। फाइनल खेलको म्यान अफ द म्याच बाँझोगरा भलिबल क्लबका बालकुमार रायमाझी घोषित हुँदै नगद २५ सय पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बाँझोगराका रोमन बस्नेतले नगद १० हजार पुरस्कार प्राप्त गरे। त्यस्तै बेस्ट सर्भर सयपत्रीका सविन राई, बेस्ट स्पाइकर सयपत्रीकै विनोद श्रेष्ठ, बेस्ट सेटर बाँझोगराका राजन लिम्बू, बेस्ट डिफेन्स बाँझोगराका सन्तोष राई, बेस्ट ब्लकर बाँझोगराका पुकार तामाङ र बेस्ट कोच बाँझोगराका धनबहादुर मगर घोषित भए।

उनीहरूलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।फागुन २६ गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको हो।

भलिबल प्रतियोगितासँगै सम्पन्न भएको रस्सी तान प्रतियोगितामा विजेता पोखरा टोल विकास संस्थालाई बोका उपहार र सगरमाथा टोल विकास संस्थालाई ३ वटा भाले पुरस्कार प्रदान गरिएको थियो।