विजयपुर । बूढासुुब्बा फुटबल प्रतियोगिताको फाइनलमा न्यूरोड टिम (एनआरटी) र साङ्ग्रिला मोरङ फुटबल सङ्घबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेण्टरलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेसँगै एनआरटीको भेट मोरङसँग निश्चित भएको हो । साविक उपविजेता झापा र एनआरटीबीच भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा दुवै टिम १–१ गोल गरेपछि खेल टाइब्रेकरमा गएको थियो ।

धरान–१६ स्थित रङ्गशालामा जारी २४ औं बूढासुब्बा फुटबल प्रतियोगितामा खेलको पहिलो हाफको ४३ औं मिनेटमा काँकडभिट्टा फुटबल क्लबको तर्फबाट फोडा फोपानेले गोल गरे । उनले जीवन गुरुङको पासमा गोल गरेका थिए । खेलको ५५ औं मिनेटमा एनआरटीको तर्फबाट सरोज तामाङले फ्रि–किकमार्फत् गोल गरे ।

टाइब्रेकरमा झापाका विशाल घलानको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोके । एनआरटीका सरोज तामाङ, सनम लिम्बू, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङले गोल गरे । काँकडभिट्टाको तर्फबाट विमल घर्ती मगर, अभिशेक गुरुङ, दिवस उराँव र देवेन्द्र तामाङले गोल गरे ।

खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । भोलि (शनिबार) हुने फाइनल विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।