नेपालमा सडक दुर्घटना निक्कै ठूलो समस्याका रुपमा देखा परिरहेको छ । पहाडी क्षेत्रमा जथाभावि खनिएका सडक, त्यस्ता सडकमा चलाईने थोत्रा गाडीहरु अनि क्षमता भन्दा बढि यात्रु चढाएर लापरबाहीपूर्वक गाडी कुदाउने प्रचलन दुर्घटनाका कारण देखिन्छन् । विहीबार मात्र इटहरीबाट चतरा, कोशीपुल हुँदै उदयपुरको बेलकास्थित चुहार पुलसम्म जाने क्रममा बोलेरो दुर्घटना हुँदा ८ जनाको ज्यान गयो भने ९ जना घाईते भएका छन् । घाईतेहरुको भनाई अनुसार गाडीमा क्षमता भन्दा बढी यात्रु थिए । अफ्ठ्यारो र भीरको बाटोमा गाडीभरि कोचाकोच यात्रु राखेर कुदाउनु यो सडकमा सामान्य जस्तै हो । यो दुखद् घटनाले त्यस्तो जोखिमपूर्ण कच्ची सडकमा यात्रा गर्दा धेरै सचेतना अपनाउनु जरुरी रहेको बुझ्न सकिन्छ ।

कोशीपुलबाट मैनामैनी, चुहार हुँदै भोजपुरसम्म यात्रा गर्ने सडक अफ्ठ्यारो छ । त्यसमाथि चुहार स्थित दुधकोशीमा निर्माणाधिन पुल समयमा नबन्दा यात्रुले धरान, इटहरी वा चतरादेखि एउटा गाडीमा चुहारसम्म र त्यहाँभन्दा पारी फेरि अर्को गाडीमा जानु पर्ने बाध्यता छ । समयमा सडक र पुल निर्माण सम्पन्न नगर्ने ठेकेदार अनि उनीहरुलाई जिम्मेवार नबनाउने सरकार, नेता र मन्त्रीहरु पनि यो दुर्घटनाका दोषी हुन् । स्थानीयले पटक पटक चुहार पुल र सडकको कुरा उठाउँदै आएपनि नेताहरुले नै यसलाई चुनावको एजेन्डाका रुपमा सिमिति गरिरहेका छन् । यो घटनाबाट पनि भोजपुरमा राजनीति गर्ने नेताहरुले पाठ सिकेर सडक र पुलको काम चाँडो सम्पन्न गर्न पहल गर्नु जरुरी छ । फेरि पनि चुहार पुल र यो सडकको विषयलाई चुनावी मुद्धा बनाउनु गलत हुन्छ । बरु यसबाट पाठ सिकेर चाँडो भन्दा चाँडो सडक र पुल निर्माण सम्पन्न गराउन पहल गर्नुपर्छ । साथै यस्तो जोखिमपूर्ण सडकमा चल्ने गाडीहरुको अवस्था कस्तो छ ? भन्ने विषयमा अध्ययन गर्नु आवश्यक छ । गाडीहरुमा कति यात्रु चढाउने भन्ने विषयमा नियमन हुनु जरुरी छ ।

महामारीका रुपमा बढिरहेको सडक दुर्घंटना न्यूनिकरण गर्न आवश्यक देखिएको धेरै समय भईसक्यो तर यसतर्फ न त सरकारले गतिलो कदम चाल्न सकेको छ, न यातायात व्यवसायीहरुले नै । विशेषगरी पहाडी क्षेत्रमा थोरै र निश्चित समयमा मात्र गाडीहरु चल्ने भएकाले यात्रुहरुले राम्रो गाडी छानेर र भीड कम भएको गाडीमा चढ्ने अवसरै पाउँदैनन् । पछिल्लो समय पहाडी क्षेत्रमा विकास देखाउन जनप्रतिनिधिहरुले पनि सडकका नाममा अध्ययन अनुसन्धान बिनै जथाभावी बाटो खन्ने प्रचलन छ । विकासका नाममा बनाईने धराप जस्ता सडक मृत्यु मार्ग बनिरहँदा सरकार चुपचाप बसिरहनु उचित हुँदैन । देशैभर पहाडी क्षेत्रका सडकमा बर्षेनी दुर्घटना हुने गरेका छन् । वार्षिक रुपमा हजारौं जनाको मृत्यु भईरहेको छ । हवाई जहाज दुर्घटनामा तुरुन्तै चासो लिएर छानबिन समिति गठन गर्ने सरकारले सडकमा हुने दुर्घटनामा वर्षेनी हजारौं नागरिकले ज्यान गुमाई रहँदा छानबिन समिति गठन नगर्नुले राज्यको मानसिकता पनि वर्गीय रहेको प्रष्ट हुन्छ । सडक दुर्घटना न्यूनिकरणका लागि राज्यले नै नीति निर्माण गरेर अघि बढ्न ढिलो भईसकेको छ ।