विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित धरान गल्फ कोर्समा 'ड्राइभिङ रेन्ज' र 'पार्किङ एरिया' लगायतका भौतिक संरचना निर्माण गरिएको छ ।

नेपाली सेनाको काली शक्ति गणले निर्माण गरेको 'ड्राइभिङ रेन्ज' को पूर्वी पृतनापति उपरथि आशबहादुर तामाङ पीएचडीले अनावरण गरेका छन् ।

पृतनापति तामाङको निर्देशनमा धरान गल्फ क्लब र अध्यक्ष एएसपी विरेन्द्र विक्रम लिम्बू (अप्रा) बाट उपलब्ध निर्माण सामग्री प्रयोग गरी सेनाको इन्जिनियरिङ गणले 'ड्राइभिङ रेन्ज' र 'पार्किङ एरिया' निर्माण गरेको धरान गल्फ क्लबका उपाध्यक्ष हरि राईले जानकारी दिए ।

उपरथि तामाङले रिबन काटेर गल्फ 'ड्राइभिङ रेन्ज' को अनावरण गरे । अनावरणसँगै उनले 'ड्राइभिङ स्किल' समेत प्रदर्शन गरेका थिए ।

अनावरण कार्यक्रममा बोल्दै उपरथि तामाङले  'स्ट्रेस म्यानेजमेन्ट' का लागि खेल खेल्नुपर्ने बताए। ध्यान, योगका दृष्टिले पाका उमेरका व्यक्तिलाई गल्फ खेल अत्यन्तै उपयोगी भएको उनले चर्चा गरे ।

'धरान गल्फ कोर्सलाई राम्रो बनाउनु हामी सबैको साझा कर्तव्य पनि हो, देशको 'प्रेस्टिज'को कुरा पनि हो, हामीसँग धेरै गल्फ कोर्स छैन, म यहाँ भएका बेलामा यसलाई केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थ्यो, यहाँहरुले स्रोत साधन जुटाइदिनु भयो, हाम्रो दक्ष जनशक्ति प्रयोग भयो, नेपाली सेनाको नीति पनि हो, जनहीतका कार्य गर्ने, जनतासँग जोडिने,' उपरथि तामाङले भने, 'यो मौका दिनु भएकामा धरान गल्फ क्लबप्रति आभार व्यक्त गर्दछु ।'

उपरथि तामाङले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गल्फ कोर्समा ८ लेनको 'ड्राइभिङ रेन्ज', 'कार पार्किङ', 'स्टोर' र आकस्मिक शौचालयको निर्माण गरिएको छ ।

अनावरण कार्यक्रममा सेवा निवृत्त जर्नेलहरु, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु, धरानका गल्फरहरुको उपस्थिति रहेको थियो ।

धरान गल्फ क्लबले गल्फ कोर्स सन्चालन गर्न थालेपछि परिकल्पना गरिएका विभिन्न संरचनाहरु निर्माण थालनी भएको जनाएको छ ।

पार–७०, १८ होल गल्फ कोर्स सन् १९६२ मा ब्रिटिस घोपा क्याम्प (गोर्खा सैनिक भर्ती केन्द्र) का बेलायती अधिकारीहरूको पहलमा स्थापना भएको इतिहास छ । यो कोर्स नेपालमा गोकर्ण पछिको उत्कृष्ट मानिन्छ । घोपा क्याम्प उठेपछि क्षेत्रीय अस्पतालले उपभोग गरेको क्षेत्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो ।

धरान गल्फ कोर्समा ड्राइभिङ रेन्ज, पटिङ ग्रिनलगायत स्तरीय बन्नु पर्ने कुरा उठिरहेको थियो ।