झापा गोल्डकप विजेता 'लिग लिडर' एपीआई पावर चर्च बोइज युनाइटेड धरानमा जारी बुढासुब्बा गोल्ड कपको अन्तिम क्वाटर फाइनल खेलमा पराजित भएको छ ।

तुलनात्मक रुपमा 'फिजिकल फिटनेसको एडभान्टेज' पाएको चर्च बोइज बुढासुब्बा गोल्डकपको साविक उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग १-० को निराशाजनक हार बेहोर्न बाध्य भयो ।

संघर्षपूर्ण खेलको पहिलो हाफको ४४ औ मिनेटमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरकातर्फबाट जर्सी नम्बर ८ लगाएर मैदानमा उत्रिएका अविशेक गुरुङको पासमा जर्सी नम्बर ९ का बिमल घर्ती मगरले असिस्ट गर्दा जर्सी नम्बर ११ का आशिष चापागाईंले 'डिबक्स' बाट बललाई गोलको दिशा दिए ।

चर्च बोइजका प्रहार निष्फल बनाउन काँकडभिट्टाका डिफेन्डर देवेन्द्र तामाङ नेतृत्वको 'डिफेन्स लाइन' बाधक बन्यो । 'म्यान अफ द म्याच' विशाल घलानले संघर्षपूर्ण बचाउ गरे ।

दोस्रो हाफको इन्जुरी टाइममा चर्च बोइजले पाएको 'मास्टर कर्नर' गोलकिपर दीप कार्कीको 'फर्वर्ड मुभ' मार्फत उत्कृष्ट 'हेडर' दाहिने 'बार' नजिकबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका चर्च बोइजका सन्तोष खत्री र काँकडभिट्टाका तर्फबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका निशान लिम्बूले खेल प्रदर्शन गर्न पाएको मौका गोलविहीन हुँदा उल्लेखीय देखिएन ।

'पोस्ट म्याच कन्फरेन्स' मा चर्च बोइजका म्यानेजर अशोक थापाले थकित खेलाडीले अपेक्षित 'पर्फर्मेन्स' दिन नसकेको बताए ।

'टिमको स्केज्युल टाइट भएका कारण हिजोको 'हाइप्रेसर म्याच' बाट थाकेका केटाहरू चल्न सकेनन्, फस्ट इलेभेनका केटाहरु खेल्न नसक्ने भन्दै बसेका थिए, टिमले प्रेसर खाएपछि सेकेन्ड हाफमा छिराउनु पर्यो,' म्यानेजर थापाले भने, 'विपक्षीको विकनेस पत्ता लगाए पनि केटाहरुले खेल्नै सकेनन् ।'

यो सिजनमा नक आउट प्रतियोगिताअन्तर्गत छैठौं स्पर्धामा उत्रिएको चर्च बोइजले सोमबार झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टिम एपिएफ क्लबलाई ३–० ले हराउँदै उपाधि जितेको थियो ।

विजयी काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । 

जारी बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल बुधबार धरान फुटबल क्लब र साङ्ग्रिला फुटबल एसोसियसन मोरङबीच हुने आयोजकले जनाएको छ ।