विजयपुर ।  विभागीय टिम नेपाल पुलिस क्लब २४ औं बूढासुब्बा गोल्डकपको क्वार्टर फाइलनबाटै बाहिरिएको छ ।मोरङ फुटबल क्लबसँग ३–० ले पराजित हुँदै पुलिस बाहिरिएको हो ।

सोमबार धरान रङ्गशालामा भएको तेस्रो क्वार्टर फाइनलमा मोरङका महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक–एक गोल गर्दै पुलिसलाई पराजित गरे ।

प्रतिस्पर्धात्मक खेलको पूर्वार्धमा दुवै टिमबाट गोल हुन सकेन । उत्तरार्धमा पुलिसमाथि दबाव बढाएको मोरङका लागि महेन्द्रले ७० औँ मिनेटमा साइमन लिम्बूले प्रहार गरेको फ्रिकिकलाई हेडमार्फत् गोल गरेका थिए । त्यस्तै ८० औँ मिनेटमा पुलिसका सञ्जीव लामाले मोरङका मौसम लिम्बूलाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै उमेशले सहजै गोल गरे ।

मोरङका लागि खेलको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा सुशीलले गोल गरेपछि पुलिस ३–० ले स्तब्ध भयो । जितसँगै मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले नगद १० हजार पाए ।

प्रतियोगिता अन्तर्गत आज (मङ्गलबार) को अन्तिम क्वार्टर फाइनलमा चर्च ब्वाइज क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । चैत्र ३ गतेसम्म चल्ने गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।