धरानबाहिरबाट आएका व्यापारीहरूले धरान एक्स्पोमा सोचे अनुकूलको व्यापार भएको बताएका छन्।

फागुन ११ गतेबाट सुरु भई २३ गते सम्पन्न भएको एक्स्पोमा स्थानीय कृषि उत्पादन, खाद्यान्न सामग्रीदेखि लिएर अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनसमेत राखिएको थियो। जम्मा १ सय ३० वटा स्टलमा राखिएको एक्स्पोमा सबैभन्दा बढी व्यापार जुत्ता, चप्पल, सरफ, साबुन तथा पाकिस्तानबाट आएको लेदरको ज्याकेटले र ज्वेलरीका सामानहरूको भएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए।

१३ दिन सञ्चालन भएको एक्स्पोको अवलोकन गर्ने  आन्तरिक र स्थानीय गरी एक लाख पच्चीस हजार आगन्तुक आएको अध्यक्ष  श्रेष्ठले बताए।१५ देखि १६ लाख आम्दानी गरेको एक्स्पोमा यो वर्ष करिब १० देखी १२ करोडबराबरको व्यापार भएको उनले बताएका छन्।

स्टलको भाडा २५ देखि ३० हजारसम्म तिरेर पाकिस्तानदेखि व्यापार गर्न आएका अवित इमरनले एक्स्पोमा सन्तोषजनक व्यापार भएको बताए। उनले पाकिस्तानबाट ल्याएका लेदरका ज्याकेटहरू स्टलमा राखेका थिए।

उनको स्टलमा ६ हजारदेखि १५ हजार मूल्यसम्मका ज्याकेटहरू थिए। उनले एक्स्पोमा दिनमा १५ हजारदेखि २० हजारसम्म व्यापार गरेका थिए। उनले आफूले सोचे जस्तो व्यापार नभए पनि घाटा भने नभएको बताए। धरानमा पहिलोपटक व्यापार गर्न आएका उनले व्यापारबाट सन्तुष्टि मिलेकाले अर्को वर्ष पनि आउने बताए।

उर्लाबारीका सुनिल प्रधानले भने चीनबाट ल्याएको चप्पल, जुत्ताको व्यापार गरेका थिए। उनले पनि एक्स्पोमा व्यापार राम्रो भएको बताए। स्टक खाली गर्नका लागि चीनबाट ल्याएको प्लास्टिकका विभिन्न क्वालिटी र डिजाइनका चप्पलको राम्रो व्यापार भएको उनको भनाइ छ।

बिर्तामोडमा श्रेष्ठ  टे«डर्स सञ्चालन गरिरहेका सुनिलले ४ सय ५० मा बेच्ने गरेको चप्पल एक्स्पोमा २ सय पचासमा बेच्दा पनि राम्रो व्यापार भएको बताए। स्टक गरेका पुरानो सामान भएकाले आफूले सस्तोमा बेचेर स्टोर खाली गरेको उनको भनाइ छ।

उनले दिनमा २० देखि २५ हजारसम्म कारोबार गरेको बताए। उनले पनि आफूलाई घाटा नभएको बताए। धनकुटाको पञ्चकन्या घरेलु ठेकी, तोङ्बा उघोगले काठबाट बनेका विभिन्न जातजातिको कला, संस्कृतिअनुसारको काठको घरायसी, सजावटका सामग्रीको व्यापार २०६९ सालदेखि गर्दै आएका कृष्ण रसाइलीले एक्स्पोमा सन्तोषजनक व्यापार भएको बताए।

पाकिस्तानबाट ज्वेलरीका सामान, घडी, ब्रास्लेट, झुम्कालगायतका सामग्री बेच्न आएका मोहम्मद अरबले राम्रो व्यापार गरेको बताए ।उनको पाकिस्तानमा समेत आफ्नो पसल भएकाले धरान एक्स्पोमा व्यापार गर्न आएको बताए।

यस वर्षबाट एक्स्पोमा राखिएको जिपलाइन नयाँ खेल भएकाले अनुभवका लागि धेरैको रोजाइमा परेको थियो। एक्स्पोमा हरेक साँझ हुने साङ्गीतिक कार्यक्रममध्ये दार्जिलिङबाट आएको मन्त्र ब्यान्ड र धरानकै लोकल गायक जोन चाम्लिङ अर्थात् जोन एण्ड दि लोकलको प्रस्तुतिका क्रममा सबैभन्दा बढी टिकट बिक्री भएको एक्स्पो संयोजक गोपाल श्रेष्ठले बताए।