नेपालीहरू विदेश जानुको प्रमुख उद्देश्य पैसा कमाउनु नै हो । अझ हङ्कङजस्तो धेरै कमाइ हुने ठाउँमा त अधिकांश नेपालीहरूको प्राथमिकता पैसा बढी आउने काम नै हुन्छ । रीता गुरुङ भने आम मान्यताको अपवादमा पर्छिन् । उनको प्राथमिकता सामाजिक काममा छ । उनी हङ्कङस्थित नेपाली समुदायको नेतृत्व गरिरहेकी छन् ।

७५ लाख जनसङ्ख्यामध्ये करिब ४० हजार नेपालीहरू रहेको हङ्कङमा दर्जनौं नेपाली सङ्घ–संस्थाहरू छन् । ती संस्थाहरूको पनि साझा संस्था ‘हङ्कङ नेपाली महासङ्घ’ मा दोस्रो कार्यकालका लागि अध्यक्ष रहेकी गुरुङ पूर्णकालीन रूपमा सामाजिक काममै व्यस्त रहन्छिन् । उनले महासङ्घमार्फत् हङ्कङ सरकारसँग सहकार्य गरेर निर्माण क्षेत्रमा काम गर्ने नेपाली श्रमिकहरूको सुरक्षासम्बन्धी प्रशिक्षणदेखि नेपाली बालबालिकाहरूलाई नेपाली भाषा प्रशिक्षण, तेक्वान्दो र फुटबल प्रशिक्षण, नृत्य प्रशिक्षणजस्ता कार्यक्रमको नेतृत्व गरिरहेकी छन् । बिहानदेखि राति अबेरसम्म यस्तै सामाजिक काममै सक्रिय रहने उनी भन्छिन्, ‘यहीँ जन्मिएका नेपाली बालबालिकालाई आफ्ना कला, संस्कृति सिकाउन र नेपालीलाई आइपर्ने अन्य समस्या समाधानका लागि समय दिनै पर्छ ।’

सन् १८४१ देखि १९९७ सम्म हङ्कङ बेलायतको अधीनमा थियो । सन् १९९७ देखि भने चीनको अधीनमा आयो । ब्रिटिस गोर्खा सैनिकमा भर्ना भएका थुप्रै नेपालीहरू बेलायतको अधीनमा रहेकै बेला हङ्कङ पुगेका थिए । सन् १९८३ भन्दा अघि हङ्कङमै जन्मिएकाहरूले स्थायी बसोबासको अधिकार पाउने कानून बनेपछि सन् १९९७ पछि नेपालीहरूको हङ्कङ जाने क्रम बढ्यो । हङ्कङमै जन्मिएकी रीता पनि नेपालमै आएर स्टाफ नर्स पढेर पोखरामा काम गरिरहेकी थिइन् ।

हङ्कङमै जन्मिएकाले त्यही अवसरको सदुपयोग गर्न उनी सन् १९९७ मा हङ्कङ पुगिन् । नेपालमा अस्पतालमा नर्सको रूपमा काम गरिरहेकी उनी हङ्कङ पुगेपछि भने विभिन्न क्षेत्रमा सङ्घर्ष गरिन् । सुरुमा फुड एन्ड बेभरेजमा काम गरेकी उनी पछि एयरपोर्टमा निर्माण कामदार पनि बनिन् । यही सिलसिलामा नेपाली समुदायमा उनको चिनजान बढ्दै गयो । सन् १९९८ पछि हङ्कङमा विभिन्न संस्थाहरू स्थापना हुन थाले । सन् २००३ पछि उनी पनि संस्थाहरूमा सक्रिय हुन थालिन् । सन् २००५ पछि भने सङ्घ–संस्थाका विभिन्न पदहरूमा रहेर काम गर्न थालिन् । ‘त्यतिबेला सङ्घ–संस्थामा सक्रिय भएर लाग्ने महिलाहरू कम थिए । ‘म एक्लै भए पनि पुरुषहरूसँग नेतृत्वमा सहकार्य गरेर काम गर्थें’ उनी भन्छिन्, ‘अहिले पनि यहाँका संस्थाहरूको नेतृत्वमा महिला कम छन् तर, पहिलाभन्दा राम्रो अवस्था छ ।’

परदेशको ठाउँमा पुरुषलाई समेत रातदिन सामाजिक काममा लाग्न सहज छैन । त्यसमाथि महिलालाई घरव्यवहारदेखि अनेक चुनौती हुन्छन् । उनले ती चुनौतीहरू सामना गर्दै अघि बढिन् । अहिलेसम्म पनि त्यसरी नै अघि बढिरहेकी छन् ।  महासङ्घमा संस्थाहरू सदस्य रहने भएकाले उनी आफ्नो संस्था तमू ट्हो ह्युल हङ्कङको प्रतिनिधिका रूपमा सन् २०१० मा महासङ्घको सातौं अधिवेशनमा महासचिवको उम्मेदवार बनिन् । हङ्कङका ठूला संस्थाहरूमा पनि नेपालमा जस्तै राजनीतिक प्रभाव हुन्छ । तर, उनलाई सबैले सहयोग गरे । उनी महासचिवमा निर्विरोध निर्वाचित भइन् ।

महासङ्घको अध्यक्षमा भने अर्कै समूहका उम्मेदवार प्रदीप थापाले जिते । उनको संस्थाले समर्थन गरेका अध्यक्ष भने पराजित भए । फरक समूहको भए पनि चुनाव जितिसकेपछि विधानअनुसार काम गर्नुपर्ने उनको मान्यता थियो । त्यसैले अध्यक्षसँग मिलेर काम गरिन् तर, उनको संस्थाले त्यो कुरा मन पराएन । संस्थाले उनलाई फिर्ता बोलाउने निर्णय ग¥यो । ‘अनायसै म पनि राजनीतिक चक्करमा फसेँ । संस्थाका लागि सक्षम र सक्रिय थोरैमध्ये म पनि पर्थें, इमान्दारीपूर्वक काम गर्दा पनि मलाई आफ्नै संस्था र पहिला समर्थन गर्नेले सहयोग गरेनन्’ उनी भन्छिन्, ‘बरु अन्य सङ्घ–संस्थाहरूले महासङ्घमा तपाईं चाहिन्छ भनेर सहयोग र समर्थन गरे । त्यसपछि झनै सामाजिक क्षेत्रमै केन्द्रित भएर सक्रिय रहन थालेँ ।’

यही क्रममा उनले नेपाली आदिवासी जनजाति महासङ्घ हङ्कङलगायत विभिन्न संस्थामा रहेर काम गरिन् । नेपाल क्लब हङ्कङको अध्यक्षसमेत रहेकी उनी पछिल्लो समय हङ्कङ सरकार र त्यहाँको नेपाली समुदायबीच पुलको रूपमा पनि काम गरिरहेकी छन् । उनी हङ्कङ सरकारले गठन गरेको ‘याउ सिम मोङ डिस्ट्रिक फाइट क्राइम कमिटी’ को सन् २०१४–२०२० की उपाध्यक्ष, ‘द इथ्निक माइनोरिटिस् टाक्स फोर्स अफ कन्स्ट्रक्सन इन्डष्ट्रिज काउन्सिल’ की सल्लाहकार, इथ्निक माइनोरिटिस् फोरमकी सदस्य, प्रोमोसन अफ रेसियल हार्मोनीकी कार्य समिति सदस्य लगायतका रूपमा काम गरेकी छन् । नेपाली समुदाय र अल्पसङ्ख्यकहरूको हकहितका लागि सामाजिक कार्य गरेको भन्दै हङ्कङ सरकारले उनलाई सन् २०१६ मा ‘चिफ एक्ज्युकेटिभ्स कमन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्ड प्रदान गरेको थियो । गतवर्ष हङ्कङ सरकारको गृह तथा युवा मामिला मन्त्रालय अन्तर्गतको महिला आयोगमा नियुक्त भइन् ।

हङ्कङमा मात्र होइन, नेपालमा पनि भूकम्प, कोभिड महामारीजस्ता विभिन्न विपद्का समयमा सहयोग सङ्कलन गरेर पठाएकी उनी भन्छिन्, ‘अब त समाजसेवाबाट टाढा हुनै सक्दिनँ । जीवनभर समाजसेवामै लागिरहन्छु ।’