विजयपुर । पानबारी शतवार्षिक उत्सवको अवसरमा आयोजित ‘छैठौं पानबारी भलिबल कप २०८०’ मा कोशी प्रदेश भलिबल ट्रेनिङ सेण्टर दमक सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक क्लबका महासचिव केदार बस्नेतका अनुसार खेलको पहिलो सेटमा दमकले २५–२३ अङ्कले अग्रता लियो । दोस्रो सेटमा १८–२५ अङ्कले अग्रता गुमाएको थियो । खेलको तेस्रो सेटमा भने पुनः २५–८ अङ्कको अन्तरले दमकले अग्रता लियो ।

चौथो सेटमा पनि १९–२५ को अन्तरले अग्रता गुमायो भने अन्तिम सेटको खेलमा १५–१३ अङ्कले दमक विजयी बनेको हो । खेलका म्यान अफ द म्याच सतिसाले स्पोर्टिङ क्लब मोरङका उमेश राई घोषित भए । उनले २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

क्लबका महासचिव बस्नेतका अनुसार आज (सोमबार)  बेलबारी नगरपालिका र कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टर रानी मोरङबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सयपत्री ब्वाइज युनियन क्लबको आयोजना र धरान ६ नम्बर वडा कार्यालयको संयोजनमा भइरहेको छ ।

शनिबारको उद्घाटन खेलमा आयोजक सयपत्री ब्वाइज युनियन क्लब पानबारी सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको विजेताले ३५ तोला चाँदीको ट्रफी र १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।