विजयपुर । २४ औं बूढासुब्बा फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार गोल्डकपको दोस्रो क्वार्टर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तर पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

एनआरटीका शिशिर लेखी र अफिज ओलावालेले १–१ गोल गरे । लेखीले खेलको १४ औँ मिनेटमा र ओलावालेले ६० औँ मिनेटमा गोल गरेका हुन् । आर्मीका लागि मानबहादुर आले मगरले १ गोल गरे । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजयी टिम एनआरटीका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

आज (सोमबार) को तेस्रो क्वार्टर फाइनल खेल अर्को विभागीय टिम नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । शनिबार भएको उद्घाटन खेलमा पाहुना टोली भारतको युकेएफसीलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालका ७ र एक भारतीयसहित ८ टिमको सहभागिता रहेको गोल्डकपको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।