विजयपुर । अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा फुटबल प्रतियोगिताको २४ औं संस्करणको उद्घाटन खेलमा धरान फुटबल क्लब सडन डेथमा विजयी बनेको छ ।

शनिबार धरान–१६ स्थित रङ्गशालामा उद्घाटन खेलको सडन डेथमा युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई पराजित गर्दै आयोजक टिम विजयी भएको हो । २४ औं संस्करणको उद्घाटन खेलको निर्धारित समयमा दुवै समूहले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । ९० मिनेटको निर्धारित समयमा दुवै समूहले गोल गर्न सकेनन् ।

उत्तरार्धको ५८ औं मिनेटमा धरानका मिलन राईले गोल गरी टिमलाई अग्रता दिए । उनले विनोद राईको पासमा गोल गरेका थिए । यस्तै खेलको ७२ औं मिनेटमा युकेएफसीका नयम प्रधानले गोल गर्दै खेललाई बराबर बनाए । खेलको निर्धारित समयमा बराबर भएपश्चात् टाइब्रेकरमा युकेएफसीका प्रशान्त राईको प्रहार गोल हुन सकेन । सडन डेथमा धरानका रोमन लिम्बूको प्रहार पनि गोल भएन भने युकेएफसीका एन्थोनी क्षेत्रीको प्रहार धरानका गोलरक्षक सचिन श्रेष्ठले बचाएका थिए । खेलको म्यान अफ द म्याच पनि गोलरक्षक श्रेष्ठ नै घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

खेलको पूर्वार्धमा धरानले युकेएफसीलाई दबावमा राखेको थियो भने उत्तरार्धमा खेल प्रतिस्पर्धात्मक बनेको थियो । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको कार्यक्रममा धरानका निवर्तमान प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलका नेता तथा सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

‘फुटबललाई उपमहानगरले उपेक्षा गर्यो’
कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले धरान उपमहानगरपालिकाले फुटबललाई उपेक्षा गरेको बताएका छन् । बूढासुब्बा गोल्डकपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्षसमेत रहेका राईले धरान नगर प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम बेघा अनुपस्थित भएकोमा असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा नगर प्रमुख राईलाई प्रमुख अतिथि आमन्त्रण गरेको आयोजक क्लबले जनाएको छ । प्रमुख अतिथि राई उपस्थित नभएपछि एन्फाका वरिष्ठ उपाध्यक्ष राईले भने, ‘फुटबलको महाकुम्भ धरानमा भइरहेको छ । सबैभन्दा आशा गरेको स्थानीय सरकारका मेयर र उपमेयर खोइ ?’ उनले थपे, ‘धरानमा कुरा ठूलो, काम जिरो भएको छ ।’

उनले धरान फुटबल क्लबले धरानमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरे पनि बजेट न्यून दिएको बताए । उनले भने, ‘उपमहानगरले बजेट पनि हात्तीको मुखमा जिराजस्तो मात्रै विनियोजन गरेको छ ।’ उनले राष्ट्रिय लिगमा मोफसलका क्लबलाई पनि खेल्न दिनका लागि प्रक्रिया अघि बढाएको बताए । कार्यक्रममा उपप्रमुख बेघा पनि खेल सुरु भएपश्चात् मात्र पुगेका थिए । आएलगत्तै उनी कार्यक्रमबाट बाहिरिए ।