धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको बास्केटबल कोर्टमा निर्माण गरिएको बास्केटबल बोर्ड जडानमा अनियमितता देखिएको छ । 

प्राविधिक दृष्टिले पारदर्शी बास्केटबल बोर्ड जडान गर्नुपर्नेमा स्थानीय बजारबाट सीसाको बोर्ड जडान गर्दा चर्किएर दुर्घटना हुने अवस्थामा पुगेको छ । 

बोर्ड जडान गर्दागर्दै सीसा चर्किए पनि क्याम्पस प्रशासन र सीसा जडान गर्न पहल गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले चासो देखाएको छैन । फुटेको सीसाकै बोर्डमा विद्यार्थीहरु बास्केटबल अभ्यास गरिरहेका छन् । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गत फागुन १६ गते बास्केटबल कोर्टको बोर्ड फुटेका कारण आवश्यक फेरबदल गरिदिन क्याम्पस प्रशासनलाई अनुरोध गरेको थियो । तर हालसम्म उक्त बोर्ड फेरबदल गर्न क्याम्पस प्रशासन उदासीन देखिएको छ ।  

‘बास्केटबल बोर्ड निर्माण भएको महिना दिन बित्यो, लगाउने बित्तिकै चर्किएको थियो, हामीले क्याम्पस प्रशासनलाई बोर्ड परिवर्तन गर्न अनुरोध गर्दा पनि परिवर्तन भएको छैन,’ अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष पेशलराज कार्की ‘उज्ज्वल’ ले भने, ‘भोलि भवितव्य दुर्घटना भएमा स्ववियु समिति र क्याम्पस प्रशासन जवाफदेही हुनुपर्छ ।’

बास्केटबलका प्रशिक्षक विकास चाम्लिङले प्राविधिक हिसाबले उक्त बास्केटबल कोर्टमा खेल खेल्न सुरक्षित नभएको बताए । ‘बोर्ड निर्माण गर्दाखेरि नै चर्किएको रहेछ । सिसाको बोर्ड राखेको पाइयो, खेल्दाखेल्दै फुट्न सक्छ, दुर्घटना नहोला भन्न सकिन्न ।’ प्रशिक्षक चाम्लिङले भने । प्रशिक्षक चाम्लिङले ‘बोर्ड फिक्स’ गरेको नै त्रुटिपूर्ण रहेको बताए । उनले प्राविधिक रुपले हेर्दा त्रुटिपूर्ण रहेको जानकारी दिए । 

काठको बोर्ड पुरानो भएपछि फाइबर बोर्ड राख्ने क्याम्पस प्रशासनले निर्णय गरेको थियो । सुनसरी बास्केट बल संघ र धरान बास्केट बल संघको प्राविधिकहरुको सहभागितामा क्याम्पस प्रशासनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बास्केटबल बोर्ड राख्ने निर्णय गरेको थियो । क्याम्पसले कोटेशन माग गरेर निर्माण गरेको भनिए पनि चिनजानका आधारमा स्थानीय व्यवसायीलाई बोर्ड निर्माण गर्न दिँदा सिसाको बोर्ड राखिदिएको विद्यार्थीहरुको भनाइ छ । 

‘सेट गर्ने बेला नै बोर्ड चर्किएको छ, तर पनि क्याम्पस प्रशासन र स्ववियु मौन छन्,’ एक विद्यार्थीले भने, ‘फ्रेम पुरानै छ, बोर्डमात्र फेरिएको हो । पुरानो फ्रेममा सिसामात्र हालिएको छ ।’  

क्याम्पसका स्ववियु सभापति अभिनव गुरागाईं (आलोक) ले आफूहरुले समेत क्याम्पस प्रशासनलाई सिसाको बोर्ड चर्किएको बारे जानकारी गराएको बताए । 

बोर्ड चर्किएपछि क्याम्पस प्रशासनले व्यवसायीको ‘पेमेन्ट’ रोकेको क्याम्पसका सामान्य प्रशासनका कर्मचारी महेश कोइरालाले जानकारी दिए । ७० हजार रुपैयाँको लागतमा बोर्ड राखिएको उनले जानकारी दिए । ‘कोटेशनमार्फत १० एमएमको सिसा लगाइएको छ ।’ प्रशासक कोइरालाले भने । 

आगामी फागुन २४ गतेदेखि क्याम्पसमा वृहद खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा बास्केटबल स्पर्धासमेत समावेश गरिएको छ । तर प्राविधिक सल्लाहबिनै क्याम्पस प्रसाशनले सिसाको बोर्ड लगाउनुमा अनियमितता हुन सक्ने विद्यार्थीहरुले आशङ्का व्यक्त गरेका छन् । क्याम्पसका स्ववियु सभापति गुरागाईंले तत्काल बोर्ड परिवर्तन गर्न प्रशासनलाई दबाव दिने बताए ।