बिर्तामोड ।  क्लब स्थापनाको ९० औँ वर्ष मनाउँदै गरेको न्युरोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैठौँ झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ ।

चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडी अवयोमी फकुन्लेले ३६ औं मिनेटमा गोल गरे । दायाँ साइडबाट सञ्जित राईले दिएको पासमा फकुन्लेले गोल गरेका थिए । एनआरटी पाँच पटकको लिग विजेता हो । एनआरटीले यो वर्ष स्थापनाको ९० औँ वार्षिकोत्सव मनाउन लागेको छ । भर्खरै सम्पन्न केपी ओली कपमा उपविजेता भएको एनआरटी लिग विजेता चर्च ब्वाइजसँग स्तब्ध भएको हो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । आज (बुधबार) को खेल त्रिभुवन आर्मी एफसी र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ । आर्मी चारपटकको झापा गोल्ड कपको विजेता टोली हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो । चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले टिमका मुख्य खेलाडीको अभावमा सोचेअनुसारको प्रदर्शन गर्न नसकिएको बताए । टिम सेट हुन समय नपुगेकाले अवसर सिर्जना भए पनि अझ राम्रो स्कोर गर्न नसकेको उनले बताए । चर्च ब्वाइजबाट राष्ट्रिय टिमका लागि चारजना स्टार खेलाडी बन्द प्रशिक्षणमा छन् । उनीहरूको अभाव टिममा खट्किएको प्रशिक्षक राईको भनाइ थियो ।

एनआरटीका प्रशिक्षक जीवन सिङ्केमानले फिनिसिङको अभाव टिममा देखिएको बताए । मुख्य दुईजना खेलाडी टिममा नभएका कारण तालमेल नमिलेर हार व्यहोर्नुपरेको दाबी गरे । फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा–११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउनेछ भने उपविजेताले नगद ७ लाख पाउनेछ ।