बिर्तामोड । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले झापा गोल्ड कपको छैठौं संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणबाटै घर फर्किएको थियो । पुलिस यो पटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो । आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेञ्जर मुभ बनाउन सकेको थियो ।

तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबावमा परेको थियो । खेलको ५३ औं मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

खेलको ७८ औं मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो । खेलको ६५ औं मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाएका थिए । पेनाल्टी एरियामा पाएको बललाई उनको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको ४३ औँ मिनेटमा पेनाल्टी एरियानजिकै पुलिसका उज्वल राईलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्रि–किक पाएको थियो ।

सञ्जीव लामाले गरेको फ्रि–किक प्रहार विपक्षी गोल रक्षक दीप कार्कीले पञ्च गरेर बचाए । ६९ औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो । विकास विकको पावरफुल प्रहार पोष्टमा लागेर रिबाउन्स भएको थियो । रिबाउन्स बललाई आशिष राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो । 

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले नयाँ मैदानमा खेल्दा अपेक्षाकृत स्कोर हुन नसकेको बताए । उनले लिग विजेताको स्तरले प्रतियोगितामा नतिजा नआउनु खेलको स्तर खुम्चिएको स्वीकारेका छन् । पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण प्रतियोगितामा नतिजा नआएको बताएका छन् । उनले नयाँ खेलाडीलाई अवसर दिँदा अनुभवको कमीसमेत देखिएको बताए ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ । फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ । गोल्डकपमा झापा–११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।