विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको सरस्वती स्कुलले जितेको छ ।

विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार सम्पन्न भएको प्रतियोगितामा सरस्वती स्कुलले आदर्श बालिका स्कुललाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय ४३ रनको विशाल योगफल खडा गरेको थियो । सरस्वतीकी प्लेयर अफ द फाइनल प्रेरणा पासवानले ७२ रन पारी खेल्दा दिँदा कृतिसा धामीले १७ रनको योगदान दिइन् । आदर्श बालिकाकी कञ्चन राय, सीमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिइन् ।

१ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको आदर्श बालिकाले १५ दशमलव २ बलमा सबै विकेट गुमाई ६९ रनमा सीमित भयो । बालिकाका कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाएनन् । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णिमा राजवंशी र अञ्जली मण्डलले १–१ विकेट लिइन् । प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित भइन् ।

उत्कृष्ट ब्याटर आदर्श बालिकाकी शकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् । विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट बाउन्ड्रीका  सार वेग, एड ल्याम्प टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार तथा ट्रफी वितरण गरे ।

नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा भएको प्रतियोगितामा विराटनगरका सामुदायिक स्कुल आदर्श, आदर्श बालिका, महेन्द्र, सरस्वती, सत्यनारायण र मिल्स स्कुलका महिला खेलाडीहरूले भाग लिएका थिए ।