इटहरी । कोशी प्रदेशको पहाडी भेगहरूमा बाँदर आतङ्कले बसाइ सर्ने क्रम बढ्दो छ । बाँदर नियन्त्रणका लागि भोजपुरमा स्थानीयले प्रहरी प्रशासन नै गुहार्नुपरेको अवस्था छ ।

अझ पोखरा महानगरपालिका–१९ का वडाध्यक्षले त रुख काट्ने अभियान नै चलाए । तर, सुनसरीको इटहरीमा भने बाँदर धपाउनेभन्दा पनि त्यसको संरक्षण गर्नेतर्फ स्थानीयहरू लागिपरेका छन् । इटहरी–३ तालतलैया र खोर्साने खाप आसपास अहिले बाँदर आतङ्क बढ्दो छ । घरमा राखिएको अन्न, खानेकुरा सबै बाँदरले खाएर नष्ट गर्ने गरेको छ । अझ साना केटाकेटीलाई त झम्टिने, चिथोर्नेसमेत गरेको स्थानीयहरू बताउँछन् । जङ्गलको बाँदर घरभित्रै छिर्न थालेपछि आसपासका रुखहरू काट्ने योजना स्थानीयले नबनाएका पनि होइनन् । इटहरी–३ का तुलाबहादुर राई भन्छन्, ‘सुरुमा चउर छेउछाउका रुख काट्ने योजना बनाएका थियौं ता कि बाँदर घरसम्म नआओस् । पछि फेरि रुख काट्नु हुँदैन बरु संरक्षण गर्नेतर्फ लागौँ भनेर कसैलाई रुख काट्नै दिइएन ।’

स्थानीयले बजारबाट गुलेली किनेर ल्याई बाँदर नै मार्ने योजना पनि बनाए तर, त्यो योजना पनि लागू गरेनन् । बाँदर आतङ्कले सीमा नाघेपछि स्थानीयले प्रहरी प्रशासन र वडा कार्यालयसँग सहयोग मागेको इटहरी–३ का स्थानीय मणिकुमार चाम्लिङ बताउँछन् ।

इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार बाँदर धपाउने योजना लिएर गाउँ जाँदा स्थानीय आफैले धपाउनेभन्दा संरक्षण गर्ने उपाय निकाल्न सुझाव दिएको बताउँछन् । वनजङ्गल मासिएर आहारा नपाएपछि दैनिक ६० वटाभन्दा बढीको सङ्ख्यामा बाँदरहरू गाउँ पसेको स्थानीय बताउँछन् । बाँदरले स्थानीय तुला राई, मणि राई, शकुन्तला देवी, कोपिला घिमिरे, मानुषी राई, सन्ध्या श्रेष्ठ, मनोज गुरुङ, तरुण राईलगायतको घरमा बढी क्षति पु¥याएको पाइएको छ । पाकेको खाना खाइदिने, अन्न नष्ट गर्ने, भौतिक सामग्री क्षतविक्षत बनाउने, फर्निचर बिगार्नेदेखि थाल, बटुको नै बोकेर कुद्नेजस्ता प्रवृत्ति बढेपछि स्थानीय हैरान बनेका छन् । यता जङ्गलबाट आएको बाँदरलाई जङ्गलमै रोक्न वडा कार्यालयले शनिबार फलफूलको बिरुवा रोपेको छ । पहिलो चरणमा सय वटा फलफूलको बिरुवा रोपेको र यो अभियान वर्षैभरि चलाइने इटहरी–३ का वडाध्यक्ष सुवेदीले बताए ।

जङ्गलमा पर्याप्त आहारा नपाएपछि मानव बस्ती छिरेको बाँदरलाई रोक्न यो नौलो योजना रहेको पनि उनले सुनाए । इटहरी–३ को बाँदर प्रभावित क्षेत्रमा एक सयवटा फलफूलका बिरुवा रोपिएको हो । जसमा आँप, लिच्ची, सरिफा, तित्री, बर्रा, अम्बालगायतका बिरुवा रोपिएको वडाध्यक्ष सुवेदीले बताए । रोपिएका फलफूलका बिरुवाहरूले आगामी ६ महिनादेखि नै फल दिन सुरु गर्ने वडाध्यक्ष सुवेदीले बताए । जङ्गलभित्रै पर्याप्त मात्रामा फलफूल खान पाएपछि बाँदर मानव बस्ती नपस्ने वडाध्यक्षसहित स्थानीयको पनि दाबी छ ।

बाँदर नियन्णका लागि विशेष योजना बन्दैछ: सांसद् आचार्य
यता बाँदर नियन्त्रणका लागि विशेष योजना बनाउन संसद्मा कुरा उठिरहेको सङ्घीय सांसद् तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले बताए ।

बाँदर संरक्षण अभियानका प्रमुख अतिथिसमेत रहेका सांसद् आचार्यले शुभकामना मन्तव्य राख्ने क्रममा कोशी प्रदेशको पहाडीभेगमा बाँदर आतङ्क बढ्दो रहेको छ, जसका कारण क्रमशः गाउँ नै बसाइँ सराइले खाली हुँदै गएकोप्रति चिन्ता प्रकट गरे । सांसद् आचार्यले बाँदरकै कारण मानव बस्ती रित्तिन नदिन नियन्त्रणका प्रयासहरू अघि बढाउने बताए । उनले बाँदर समातेर चीन, श्रीलङ्का या कुनै देशतर्फ निर्यात गर्ने कि भनेर योजना पनि बनिरहेको सुनाए । तर, इटहरीमा भने युवावर्गले थालेको बाँदर संरक्षण साँच्चै नौलो र उत्प्रेरित कार्य रहेको भन्दै खुसी प्रकट गरे । सांसद् आचार्यले शुभकामना मन्तव्यसँगै वृक्षरोपण पनि गरे ।