बिर्तामोड । झापाको बिर्तामोडमा शनिबारदेखि छैठौँ झापा गोल्डकप सुरु भएको छ । डोमालाल राजवंशी रङ्गशालामा सुरु भएको प्रतियोगिता प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिकूलताका बावजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए ।

भूमाफियाको आँखा परेको डोमालाल राजवंशी रङ्गशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामूहिक प्रयास आवश्यक रहने बताए । उनले एक वर्षभित्र कानूनी अप्ठ्याराहरू भए संशोधन गरेरै भए पनि यो जमिन रङ्गशालाको नाममा ल्याउनुपर्ने उनको धारणा थियो । आगामी संस्करण आफ्नै जमिनमा आयोजना गर्ने दिशामा अगि बढ्ने उनले बताए ।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले विश्वका कतिपय राष्ट्र खेलकुदकै कारण आर्थिकरूपमा मजबुत भएको बताए । राष्ट्रिय एकताका लागि खेलकुद मात्र बलियो साधन भएको बस्नेतले बताए । उनले आर्थिक सङ्कटका बावजुद पनि यति ठूलो प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिए । खेलकुद मनोरञ्जनमात्र नभएर समाजलाई एकताबद्ध बनाउने कसी भएको उनको भनाइ छ । 

जमिन विवादका कारण रङ्गशाला निर्माण नभइरहेको समयमा बस्नेतले सभामुखलाई विवाद समाधान गरेर जमिन फिर्ता ल्याउन आग्रह गरे । उनले बिर्तामोडमा रङ्गशाला अति आवश्यक रहेको भन्दै जमिन अभावमा त्यो आवश्यकता पूरा गर्न नसकिएको बताए ।

प्रतियोगिता सुरु हुनुअघि विविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौं दर्शकले भरिभराउ भएको रङ्गशाला तताएका थिए । कार्यक्रममा लिम्बू जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत गरिएको थियो । यसैगरी धुलाबारीको इष्ट होराइजन स्कुलका विद्यार्थीहरूको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रतियोगिता आयोजना हुँदै गर्दा बिर्तामोडलाई बेहुली झैं सिँगारिएको छ । बिर्तामोडदेखि बिर्ताबजारस्थित रङ्गशाला जाने सडकमा बत्ती बालेर उज्यालो बनाइएको छ । बिर्तामोडको मुक्तिचोक झकिझकाउ बनाइएको छ । मुक्तिचोकस्थित पूर्व–पश्चिम राजमार्गमाथि तोरण टाँगेर आकर्षण थपिएको छ । बिर्तामोडमा आउने पर्यटकले पनि सहजै झापामा भइरहेको यो प्रतियोगिताको लोकप्रियताबारे महसुस गर्नेछ ।

कार्यक्रममा जग्गादाता डोमालाल राजवंशीका नाति भीम राजवंशीलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको थियो ।