बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै एपिएफ छैठौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । सङ्कटा क्लब काठमाडौंलाई ४–२ गोलअन्तरले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

एपिएफका लागि दीपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । सङ्कटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । सङ्कटाका अजित लामाको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार बारमा लागेर फर्कियो ।  

खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । १३ औं मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोल रक्षकले विफल बनाए । २४ औं मिनेटमा कुलदीप कार्कीको पासमा गोल पोष्टनजिकै रहेका अनिसको हेडर बाहिरियो ।

५५ औं मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार सङ्कटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो । अतिरिक्त समयमा दीपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार सङ्कटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बचाए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर पाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४ औं मिनेटमा सङ्कटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औं मिनेटमा सङ्कटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले पञ्च गरेर बचाए । खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । आज (आइतबार)को खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल  यही फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।