विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिताको उपाधि श्रेया योञ्जन र आशिष बोहराले जितेका छन् । 

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ श्रेयाले र पुरुष सिंगलमा आशिषले उपाधि जितेका हुन् ।

महिला सिंगलमा श्रेयाले  रेजिना तामाङलाई ४–१ को सेटमा पराजित गरेकी थिइन् । रेजिना दोस्रो तथा अभिलाशा लामिछाने र श्रेया राई तृतीय भएका छन् ।

यस्तै पुरुष सिंगलमा आशिषले आभाष बुढाथोकीलाई ४–२ को सेटमा पराजित गरेका हुन् । आभाष द्धितीय, मुकुन्द बुढाथोकी र अशलेश ढकाल तृतीय भएका छन् । महिला डबल तर्फ श्रेया योञ्जन र श्रेया राईको जोडी प्रथम, अभिलाशा लामिछाने र रेजिना लामाको जोडी दोस्रो भएको छ ।

श्रेया उपाध्याय र याना राजभण्डारी तथा मुस्कान मुन्दडा र रिया गुप्ताको जोडी तृतीय भएको छ । पुरुष डबल तर्फ आशिष बोहरा र आभाष बुढाथोकीको जोडी प्रथम, दिपेन्द्र थापा र मुकुन्द बुढाथोकीको जोडी द्धितीय भएको छ । अभिषेशअमन झा र अशलेष ढकाल, जयन्द्रबिक्रम राणा र अमित कार्की तृतीय भए ।

भेट्रानतर्फ आयोजक संघका अध्यक्ष श्यामकुमार लामा र खेलका रेफ्री राजेश लामीछानेको जोडी प्रथम, निजी विद्यालयका संचालक अमिश रेग्मी र राजकुमार थापाको जोडी द्धितीय तथा सफ्ट टेनिसका प्रशिक्षक राजेशकुमार बोहरा र पूर्व राष्ट्रिय च्याम्पियन रोशन राउतको जोडी तृतीय भएका छन् ।

कोशी प्रदेश स्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको थियो । सबै बिधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ६ हजार रुपैंया नगद पुरस्कार प्रदान गरियो । बिजेतालाई पुरस्कार प्रदान गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ र प्रदिप भगतले खेल र खेलाडी संरक्षणमा बोर्ड सक्रीय रहेको जानकारी दिए ।