धरान । प्याब्सन स्पोर्ट्समिट मिटअन्तर्गत फुटबल प्रतियोगितामा इटहरीको हिमशिखर स्कुलले उपाधि जितेको छ ।

धरानको एन्फा टेक्निकल सेन्टरमा शनिबार आयोजित फाइनल प्रतियोगितामा वराहक्षेत्रको मुनबिम एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा हिमशिखरका सलोन जिमी र समिर राईले गोल गर्दा मुनबिमबाट युवराज गुरुङले गोल गरे । प्रतियोगितामा विजेता र उपविजेता टिमले नगदसहित ट्रफी प्राप्त गरेको छ ।

यस्तै व्यक्तिगततर्फ सर्वाधिक गोलकर्ता मुनबिमका जेम्स राई, बेस्ट स्ट्राइकर हिमशिखरका प्रशान्त सुब्बा, बेस्ट डिफेन्स मुनबिमका समिर राई, बेस्ट गोलकिपर हिमशिखरका किरण गुरुङ, बेस्ट प्लेयर अफ टुर्नामेन्टमा हिमशिखरका योगेन्द्र कार्की र फाइनल खेलको म्यान अफ द म्याच हिमशिखरका सलोन जिमी भए ।

कार्यक्रममा विजेता, उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राई, विशेष अतिथि प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार शङ्कर थापा, प्याब्सन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुमित थापा, प्याब्सनका प्रदेश सल्लाहकार कविन्द्र मण्डल, प्रदेश अध्यक्ष टीकाराम ढकाललगायतले पुरस्कार वितरण गरेको प्याब्सन जिल्ला सदस्य रमेश दाहालले जानकारी दिए ।

उनका अनुसार विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी पाएका छन् । यस्तै तेस्रो हुने दुई टिमले नगद ५–५ हजार रुपैयाँ पाएका छन् । तेस्रो हुने टिममा धरानको डिपो स्कुल र दुहबीको माउन्ट एभरेष्ट रहेको छ । यही फागुन ६ गतेबाट सुरु भएको प्रतियोगितामा १६ वटा टिम सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जनले गरेका थिए ।